Logo

राष्ट्रिय सभा निर्वाचनः बागमतीमा रिक्त हुने ४ सिटमा १५ जनाको उम्मेदवारी दर्ता



काठमाडौं, २३ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

बागमती प्रदेशमा महिला समूहका लागि ४ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि ४ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

बागमतीमा महिला समूहका लागि नेकपा (एमाले) बाट रोचकुमारी चौलागाईँ, नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनी, राप्रपाबाट बालकुमारी डल्लाकोटी र नेमकिपाबाट कृष्णलक्ष्मी दुवालले मनोनयन दर्ता गराएका हुन् ।

त्यसैगरी, दलित समूहका एमालेको ध्रुवराज विश्वकर्मा, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल विश्वकर्मा र नेमकिपाबाट संगिता नेपालीले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एमालेका विवेक देवकोटा, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, राप्रपाको भरतमणि भट्ट र नेमकिपाको हिमालयश्वर लाल मुनले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी, अन्य समूहका एमालेका त्रिलोचन निर्मल पौडेल, कांग्रेसका जितजंग बस्नेत, राप्रपाका हेमजंग गुरुङ र नेमकिपाका श्रीकृष्ण महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot