Logo

राष्ट्रिय सभा निर्वाचनः गण्डकीमा ८ जनाले दर्ता गराए उम्मेदवारी



काठमाडौं, २३ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको छ । स्वीकृत निर्वाचन कार्यतालिका अनुसार आज (सोमबार) विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मनोनयनका लागि समय निर्धाण गरिएको थियो । उक्त समयावधिमा सातै प्रदेशमा ५२ जनाले मनोनयन दर्ता गराएका छन् । सबै निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार गण्डकी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ८ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

महिला समूहमा नेकपा (एमाले) की सम्झना देवकोटा, नेकपा (माओवादी केन्द्र) की मनरुपा शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीकी गौमाया श्रेष्ठले मनोनयन दर्ता गराएकी छन् ।

त्यसैगरी, अपाङ्गता भएका व्यक्ति तथा अल्पसंख्यक समुदायबाट एमालेका हेमन्द्र शेरचन र नेपाली कांग्रेसका पदमबहादुर परियारले मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी अन्य समूहमा एमालेबाट चक्रबहादुर पराजुली, कांग्रेसबाट किरणबाबु श्रेष्ठ र राप्रपाबाट रोमबहादुर भण्डारीले मनोनयन दर्ता गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्