Logo

ओलीले राष्ट्रिय सभालाई प्रतिनिधि सभाकै डुप्लिकेशन बनाएको माओवादी महासचिवको आरोप



काठमाडौं, २४ पुस । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रिय सभा प्रतिनिधि सभाकै डुप्लिकेशन बनेको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संविधान ड्राफ्ट गर्दा राष्ट्रिय सभाको तात्पर्य वरिष्ठ व्यक्तित्वहरुको थलो बनाउने भएपनि अहिले दलकै प्रतिनिधित्व हुन थालेको उनले बताए । प्रतिनिधि सभामा दलहरुबीचको अस्वस्थ प्रतिस्पर्धाले गर्दा कहिलेकाहीँ गलत निर्णय हुँदा त्यसलाई रिभ्यू गर्ने थलोका रुपमा राष्ट्रिय सभा बनाउने विधायिकाको मनशाय भएपनि त्यो अहिले दलीयकरण भएको उनको स्वीकारोक्ति छ ।

‘संविधान ड्राफ्ट गर्दा राष्ट्रिय सभाको तात्पर्य चाहीँ वरिष्ठ व्यक्तित्वहरुको थलो बनाउन पर्छ । त्यसमा संविधानविद्, कानुनविद् र विभिन्न क्षेत्रका अनुभवीहरु हुनसक्छन् । जसले गर्दा कानुन र विधि बनाउने थलो प्रतिनिधि सभामा दलहरुबीचको अस्वस्थ प्रतिस्पर्धाले गर्दा कहिलेकाहीँ गलत विषयहरु प्रवेश हुनसक्छ । त्यसकारणले गर्दा त्यसलाई स्वतन्त्र र निश्पक्ष ढंगले रिभ्यू गर्ने थलोका रुपमा राष्ट्रिय सभा बनाउन पर्छ भन्ने कन्सेप्टबाट सुरु भएको हो,’– उनले भने ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएका बेला नियमावली बनाएर राष्ट्रिय सभालाई प्रतिनिधि सभाको डुप्लिकेशनको रुपमा विकास गरेको उनको आरोप छ ।

‘अहिले अभ्यास गर्दै आउँदाखेरी प्रतिनिधि सभाको डुप्लिकेशनजस्तो बन्न पुग्यो । जसलाई चाहीँ रिभ्यू गर्ने अंगको रुपमा लैजाने भनेको पछि ओलीजी प्रधानमन्त्री भएको कार्यकालमा एउटा नियमावली डेभलप गरे । त्यसले प्रतिनिधि सभाको डुप्लिकेशनको रुपमा लग्यो,’– महासचिव गुरुङले भने ।

अहिले राष्ट्रिय सभा दलीय मूल्यमान्यतामा मात्रै सीमित भएको उनले बताए । संरचनाको हिसाबले पनि प्रतिनिधि सभाकै डुप्लिकेशन बनेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्