काठमाडौं, २४ पुस । कोशी प्रदेश सभाको सभामुखमा अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । आज (मंगलबार) बसेको प्रदेश सभा बैठकबाट उनी प्रदेश सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध सभामुखमा निर्वाचित भएको घोषणा गरिन् ।
प्रदेश सभाका तत्कालीन सभामुख बाबुराम गौतमले गत साउन १६ गते पदबाट राजीनामा दिएका थिए । पाँच महिनाभन्दा लामो समय सभामुख विहीन भएको कोशी प्रदेश सभाले अन्ततः आज विष्टलाई सभामुख पाएको छ ।
कोशीमा सभामुखका लागि विष्टको मात्रै उम्मेदवारी परेको थियो । सत्तारुढ गठबन्धन दल र प्रमुख विपक्षी दल नेकपा (एमाले) ले समेत सभामुखमा विष्टलाई समर्थन गर्ने घोषणा गरिसकेको थियो । राप्रपाको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य निर्वाचित भएका विष्ट झापाका हुन् ।