काठमाडौं, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय पक्षले चिनियाँ पक्षले उत्पादन गरेको विजुली लैजानेबारे रिजर्भेसन राखेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकलाई सम्बोधन गर्दै उनले भारतीय पक्षले रिजर्भेसन राखेको भएपनि ग्लोबल टेन्डरमार्फत ठेक्का पारेर निर्माण भएको आयोजनाहरुलाई चीनको उत्पादन नसम्झन भन्दै भारतीय पक्षसँग निरन्तर संवाद भइरहेको बताए ।
‘भारत सरकारको कन्सर्न के छ भने चीन सरकारले प्रत्यक्ष लगानी गरेको आयोजनाको चाहीँ लिनेमा उहाँहरुको रिजर्भेसन छ । यसबारेमा पनि हामी संवाद गरिराखेका छौं,’– प्रधानमन्त्री प्रचण्डले भने ।
उनले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सम्झौताले दीर्घकालमा विद्युत व्यापारको ढोका खोलेको दाबी गरे । १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद विक्री सम्झौतामा भारतले आफूले मात्रै बनाएका परियोजनाको विद्युत लैजाने भन्ने कुरामा कुनै सत्यता नरहेको उनले बताए ।
‘यहाँ कतिपयलाई परेको छ– यो भारतले बनाएको मात्रै परियोजनाको विद्युत लैजाने भनेको हो की ? एकदम क्लियर हुन जरुरी छ, त्यस्तो कुनै सहमति, सम्झौता नेपालले गरेको छैन । र होईन पनि ।’ उनले भने, ‘नेपालमा विभिन्न देशले लगानी गरेर विद्युत विकास गर्ने स्वतन्त्रता सबैलाई छ । भारतलाई पनि छ, अरुलाई पनि छ । जताबाट उत्पादन भएको भएपनि १० हजार मेगावाटको मात्रै कुरा गरिएको छ ।’