काठमाडौं, २५ पुस । सत्तारुढ दलले गठन गरेको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय कार्यान्वयन समितिले गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन सातै प्रदेशमा र ७७ वटै जिल्ला तहसम्म समिति गठन गर्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको समितिको पहिलो बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका सझा उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको निश्कर्ष निकाल्दै जिल्ला तहसम्मै समिति गठन गर्ने निर्णय गरेको हो ।
सत्तारुढ गठबन्धन दलले गठन गरेको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय कार्यान्वयन समितिको संयोजक नेपाली कांग्रेसका रमेश लेखक रहेका छन् । त्यसैगरी सदस्यहरुमा माओवादी केन्द्रबाट वर्षमान पुन, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र जसपाबाट मनिष सुमन रहेका छन् ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ दलहरुले गठबन्धन बनाएका छन् । गठबन्धन गरेर गएका सत्तारुढ दलहरु कांग्रेसले १० सिटमा, माओवादीले ६ सिटमा, एकीकृत समाजवादीले २ सिटमा र जसपाले १ सिटमा उम्मेदवार उठाएको छ ।
चार दलहरुले साझा उम्मेदवार उठाएर अगाडि बढ्दा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सबै प्रदेशमा अल्पमतमा परेको छ । एमालेले भने निर्वाचन हुने १९ वटै सिटमा उम्मेदवार उठाएको छ ।