Logo

राष्ट्रिय क्रिकेट टिमबाट अलग हुने सन्दीपको स्वघोषणा,क्यानलाई पठाए पत्र



काठमाडौं,२६ पुस । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ८ वर्षको जेल सजाय पाएपछि राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं स्टार स्पिनर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट अलग रहने स्वघोषणा गरेका छन् ।

उनले क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई पत्र पठाउँदै आफू राष्ट्रिय टिमबाट अलग हुने जानकारी गराएका छन्।

क्यानलाई लेखेको पत्रमा सन्दीपले आफू अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गरेका छन् । ‘तपाईँलाई थाहा छ, म आफ्नो जीवनको कठिन समयबाट गुज्रिरहेको छु । म मेरो जीवन, क्यारियर र मेरो भविष्यको परीक्षामा छु’,सन्दीपले पत्रमा भनेका छन्, ‘मैले अनुसन्धान र न्यायिक प्रक्रियाका सबै चरणमा सहयोग गरेँ र अन्ततः काठमाडौँ जिल्ला अदालतले मलाई दोषी ठहर गरेको छ । मैले न्यायालयको निष्पक्षतामाथि सधैँ भरोसा गरेको छु, र मेरो विश्वास अपरिवर्तित र बलियो रहनेछ, यद्यपि घटना वास्तविकताभन्दा धेरै टाढा छ। न्यायको आशा गरिरहेको छु।’

उनले कठिन परिस्थितिका बिच पनि आफूले देशका लागि खेलिरहेको स्मरण गर्दै कम खेलमा १०० विकेट बनाउने खेलाडीको सूचीमा दरिन पाउँदा खुसी व्यक्त गरेका छन् ।

क्रिकेट टोलीबाट बाहिरिने घोषणा गरेका सन्दीपले आफू न्यायका लागि उच्च अदालत जाने पनि बताएका छन् । ‘मलाई थाहा छ कि म निर्दोष छु । तर, देशको कानून र हाम्रो न्याय प्रणालीप्रति मेरो गहिरो सम्मान छ र मसँग फैसला स्वीकार गर्नुको विकल्प छैन, यो विश्वासले मलाई कुनै पनि तरिकाले खेलिरहन नैतिकताले दिँदैन । तसर्थ, अदालतबाट निर्दोष प्रमाणित नहुञ्जेलसम्म क्यानले राष्ट्रिय क्रिकेट टिममा दिएको जर्सीमुनि खेल्नबाट म अलग भएको छु । क्यानले मेरो यो रिक्युजल (खेलबाट अलग हुने) को स्थिति बुझ्ने छ’,सन्दीपले भनेका छन्

उनले आफू गम्भीर आर्थिक संकटमा परेकाले बाँकी रहेको भुक्तानी फुकुवा गरिदिन पनि क्यानलाई अनुरोध गरेका छन् । यस्तै उनले आफूलाई खेल जीवनमा हौसला भर्ने सबैलाई आभार प्रकट पनि गरेका छन् ।

सन्दीपलाई जिल्ला अदालत काठमाडौंले जबरजस्ति करणीमा दोषी ठहर गर्दै हिजो ८ वर्षको जेल सजाय सुनाएको छ । यद्यपि, उनी तत्काल जेल जानुपर्ने अवस्था छैन । उनले थुना बाहिर नै बसेर उच्च अदालतमा पुनरावेदन गर्न सक्छन् ।

जिल्ला अदलालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्