काठमाडौं, २६ पुस । थारु कल्याणकारिणी सभा केन्द्रीय समितिको संयोजन र २० वटा थारु संघ संस्थाहरुको संयुक्त आयोजनामा काठमाडौंको टुँडिखेलमा थारु राष्ट्रिय माघी महोत्सव– २०८० कार्यक्रम हुने भएको छ । थारु कल्याणकारिणी सभा केन्द्रीय समितिले आज (बिहीबार) पत्रकार सम्मेलन गरी पुस २९ र माघ १ गते महोत्सव आयोजना गरिएको जानकारी गराएको हो ।
महोत्सवले थारु संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई महोत्सवमा सहभागी गराई नेपालको अर्थतन्त्रमा विकास गर्न मद्दत पुऱ्याउने विश्वास लिइएको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न थारू कल्याणकारिणी सभाका केन्द्रीय महामन्त्री प्रेमीलाल चौधरीको संयोजकत्वमा थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक समिति २०८० गठन गरिएको छ ।
जसअन्तर्गत थारूका विभिन्न संघसंस्थाहरू आयोजक सदस्यको रुपमा रहेका छन् । यसैगरी मूल आयोजक समिति मातहतमा विभिन्न उपसमितिहरू गठन गरिएको छ । जसमा आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा सत्यनारायण चौधरी (सुमन), स्टल व्यवस्थापन उपसमितिको संयोजकमा चन्द्र प्रकाश चौधरी, प्रचार प्रसार तथा सदस्य सचिव संयोजकमा प्रदिप लेखी, किशोर चौधरी सदस्य, सहदेव चौधरी, विज्ञापन व्यवस्थापन उपसमितिको संयोजकमा चन्द्रप्रसाद चौधरी, सांस्कृतिक उपसमिति संयोजकमा नन्दुराज चौधरी, राम स्वागत चौधरी सदस्य, विनय वैद्य सदस्य, मोटरसाइकल याली व्यवस्थापनको संयोजकमा अधिकार चौधरी, ब्लड डोनेशनमा पुष्पा चौधरी, झांकी याली व्यवस्थापनको संयोजकमा बर्दियाली विकास मञ्च, निसराउ व्यवस्थापन समितिमा थारू महिला समाज र थारू महिला सभा, अतिथि सत्कार व्यवस्थापन उपसमितिमा थारू महिला समाजरथारू महिला सभा र अग्रासन महिला समूह, जिता मार्ने उपसमितिमा बर्दियाली विकास मञ्च, फोहोर व्यवस्थापन उपसमितिमा जोगा चौधरी र शत्रुघनप्रसाद चौधरी रहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा माघ १ गते माध्यान्ह १२ बजे टुँडिखेलमा कार्यक्रमको समुद्घाटन हुने बताइएको छ । महोत्सवका मुख्य आकर्षण थारु सांस्कृतिक झाँकी, ऱ्याली प्रदर्शन, मूल समुद्घाटन समारोह, विविध थारु सांस्कृतिक प्रस्तुती, थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाईकल ऱ्याली रहने बताइएको छ । महोत्सवमा थारु खानपिन, हस्तकला, पुस्तक प्रर्दशनीका करिब एक सयभन्दा बढी स्टलहरु रहने बताइएको छ ।
महोत्सवमा फूड स्टलहरुमा थारु जातिले माघी पर्वमा खाने विशेष खाना परिकार ढिक्री, अन्डिक भात, खिचरी, तिलको लड्डु, लाईमुरी, भुजा, अन्डी, जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुँगुर÷बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा (मसुलार), आलू सिन्की, बयरको चटनी, बरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटी, झझा रोटी लगायत विभिन्न परिकारहरु पाइने बताइएको छ । Photo by: Mukunda Kalikote/RN