काठमाडौं,२७ पुस । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले माघ ११ गते मधेश प्रदेश बन्द गर्ने निर्णय गरेको छ ।
रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार बसेको आजपाको मधेश प्रदेशको पदाधिकारिको विस्तारीत बैठकले बैंकहरुको मनोमानी ब्याज फिर्ताको माग गर्दै आगामी माघ ११ गते मधेस बन्द गर्ने निर्णय गरेको हो ।
बैंकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ता,लघुवित्तीय तथा सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा तथा आम जनतालाई सहज कार्जा दिलाउन माग ११ गते मधेश बन्द गर्ने निर्णय गरेको आजपाले जनाएको छ ।
बैंकको मनोमानीविरुद्ध माघ १० गते आजपाले मधेश प्रदेशको प्रत्येक जिल्लामा मसाल जुलुस गर्ने पनि आजपाले जनाएको छ । बैंकहरुले लिने गरेको बढी ब्याज फिर्ता र लघुवित्त सहकारीको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने माग राखेर आमजनता पार्टीले बिभिन्न कार्यक्रम गर्दै आएको छ।
आजपाले मधेश बन्द गर्ने घोषणा गरेको माघ ११ गते राष्ट्रियसभा निर्वाचन पनि रहेको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटमा माघ ११ गते निर्वाचन हुँदैछ ।