Logo

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन बानियाँको नेतृत्वमा बागमतीमा बन्यो समन्वय समिति



काठमाडौं,२७ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ दलका उम्मेदवार जिताउन सत्ता गठबन्धनले बागमती प्रदेशमा समन्वय समिति गठन गरेको छ ।

गठबन्धनले आज नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा समिति गठन गरेको हो । बागमतीमा तीन सदस्यीय समन्वय समिति गठन गरिएको हो । एकीकृत रुपमा चुनावी समन्वय गर्न कांग्रेस प्रदेश सभापति इन्द्र बहादुर बानियाँको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको सदस्यमा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल र एकीकृत समाजवादीको प्रदेश अध्यक्ष सावित्रा भुसाल छन् ।

प्रदेश सभा भित्रका सदस्यहरुलाई समन्वय गर्ने गरी अर्को समन्वय समिति गठन गरिएको छ । उक्त समितिको संयोजक बागमती प्रदेशका मुख्यमन्त्री शािलकराम जम्कट्टेललाई जिम्मेवारी दिइएको छ । उक्त समितिको थप सदस्यहरुमा कांग्रेसका संसदीय दलका नेता बहादुर सिंह लामा र एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्ण खनाललाई जिम्मेवारी दिइएको छ ।

प्रदेश भित्र रहेका महानगर,उपमहानगर र नगरपालिकाका पालिकाका प्रमुख तथा उप प्रमुखसँग समन्वय गर्न नगरपालिका महासंघका बागमती प्रदेश अध्यक्ष उपेन्द्र कार्कीलाई जिम्मेवारी दिइएको छ ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि समन्वय गर्न गाउँ पालिका महासंघ बागमती प्रदेश अध्यक्ष कर्णबहादुर थापा मगरलाई दिइएको छ ।

फागुन २० गतेबाट राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटमा माघ ११ गते निर्वाचन हुँदैछ । १९ सिटमा नै सत्तारुढ दलहरुले गठबन्धन गरेर उम्मेदवार उठाएका छन् । जसमा नेपाली कांग्रेसले १०,नेकपा माओवादी केन्द्रले ६,नेकपा एसले २ र जसपाले १ सिटमा उम्मेदवारी दिएका छन् । फागुन २० गतेबाट बागमतीबाट निर्वाचित एमालेका रामचन्द्र राई, दिलकुमारी रावल थापा पार्वती,नेकपा एसबाट सिंहबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि सकिँदैछ ।



प्रतिक्रिया दिनुहोस्