Logo

पृथ्वीनारायण शाहको दिव्योपदेशलाई आत्मसात् गर्दै सामाजिक न्याय र समृद्धितर्फ अघि बढ्न प्रेरणा मिलोस्: सभामुख घिमिरे



काठमाडौं,२७ पुस । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुऱ्याएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गर्दै आजको दिनलाई नेपालको पहिचान स्थापित भएको दिनकारूपमा समेत स्मरण गरेका छन् ।

‘तत्कालीन गोरखाका राजा शाहले बहुआयामिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे,चौबिसे राज्यलाई एकीकृत गर्नुभएको थियो । अभियानको उपलब्धीस्वरूप नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये एक रहन पुगेको छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रूपान्तरित भएपछि पनि पृथ्वी जयन्तीको सान्दर्भिकता झनै बढेर उपलगएको छ । आजको विशेष दिनमा मुलुकको स्वतन्त्रता,सार्वभौमिकता,भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण राख्दै सबै नेपालीको सुख र समृद्धि हासिल गर्न प्रेरणा प्रदान गर्ने समेत विश्वास व्यक्त गर्दछु’घिमिरेले आफ्नो सन्देशमा भनेका छन् ।

पृथ्वीनारायण शाहका दिव्योपदेश राष्ट्रभक्ति,आत्मनिर्भरता र सुशासन कायम गर्नका लागि तीन सय वर्षसम्म पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ छ । घिमिरेले आजको विशेष दिनमा दिव्योपदेशलाई आत्मसात् गर्दै सामाजिक न्याय,सुशासन र समृद्धितर्फ अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्