Logo

सिआईबी प्रमुख बज्राचार्यलाई धमलाको प्रश्नः ‘ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई किन घरमै गएर बयान लिनुभयो ?’



काठमाडौं, २७ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले बयान लिनका लागि प्रहरी कार्यालयमै बोलाउनु पर्ने भन्ने बाध्यकारी व्यवस्था नरहेको बताएकी छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रहरीलाई आवश्यकता र सुरक्षाको हिसाबले सहज हुने ठाउँमा बयान लिन सकिने बताएकी हुन् ।

‘ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई किन घरमै गएर बयान लिनुभयो ?’ भन्ने धमलाको प्रश्नमा उनले भनिन्, ‘हामीले परिणामलाई हेर्नुपर्छ । प्रक्रियाहरु कानुनी रुपमा त्रुटि छ भने प्रश्न गर्नुपर्छ । बयान गर्ने कुरा सरकारी कार्यालयमै बसेर गर्नुपर्छ भनेर कहीँ लेखेको छैन । प्रहरीलाई आवश्यकता र सुरक्षाको हिसाबले जहाँ सहज हुन्छ, हस्पिटलमा गएर बयान लिएको छ, घरमा गएर बयान लिएको छ । सार्वजनिक स्थलमा गएर बयान लिएको छ । यो आवश्यकतालाई प्रहरी कार्यालयमै बोलाएर बयान लिनुपर्छ भन्ने कुरा कुनै पनि कानुनमा कही पनि उल्लेख भएको छैन ।’

बयान लिने ठाउँमा बयान लिने व्यक्ति, अनुसन्धान गर्ने व्यक्ति प्रभावमा पर्दैन, प्रमाणहरु लोप हुने अवस्था छैन र बयान लिने÷ दिने व्यक्ति सुरक्षित हुन्छन् भन्ने किसिमको प्रत्याभूति अनुसन्धान अधिकृतलाई भएको खण्डमा सहज हुने ठाउँमा बयान लिन सकिने उनले बताईन् । साथै, उनले ललिता निवास प्रकरणमा सिआईबीले किर्तेमा मुद्दा चलाएको बताउँदै पूर्व प्रधानमन्त्रीद्वयको हस्ताक्षर भएका कुनै पनि प्रमाण फेला नपरेकाले प्रतिवादी नबनाइएको बताईन् ।

‘हामीले चलाएको मुद्दा भ्रष्टाचारसँग सम्बन्धित मुद्दा होईन । लिखत किर्ते मुद्दा हो । किर्तेका लागि कहीँ कतै उहाँहरुको हस्ताक्षर भएको देखिएन । उहाँहरुको जिम्मेवारीको हकमा हामीले मजाले बोलेका छौं,’– उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्