काठमाडौं, २७ पुस । आम जनता पार्टीनिकट आम सम्पर्क मञ्चले भन्सार कानुनको ४५ प्रतिशत पुरस्कार खारेज गरिनुपर्ने भन्दै गत भदौ ३० गतेदेखि आन्दोलन गरिरहेको छ । पहिलो चरणको आन्दोलनअन्तर्गत सरोकारवाला निकायलाई ज्ञापनपत्र, ध्यानाकार्षणपत्र बुझाएको आजपाले दोस्रो चरणको कार्यक्रममा भन्सार विभाग घेराउ गरेको थियो ।
त्यस्तै आजपाको आम सम्पर्क मञ्चले तेस्रो चरणको कार्यक्रमपनि घोषणा गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा भन्सार कानुनको ४५ प्रतिशत पुरस्कार ‘प्रोत्साहन की लुट’ विषयक अन्तरक्रिया कार्यक्रम गरेर आजपाको आम सम्पर्क मञ्चले भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको विरोधमा तेस्रो चरणको आन्दोलन सुरु गरेको हो । त्यस्तै तेस्रो चरणको आन्दोलनअन्तर्गत सीमा क्षेत्रका स्थानीय तहसँग भेला, अन्तरक्रिया र संघर्ष समिति गठन गर्ने, माघ ६ गते भन्सार नीतिबारे राजनीतिक दलका नेताबारे छलफल, माघ ११ गतेदेखि १९ गतेसम्म तराईका जिल्ला सदरमुकामहरुमा सर्बपक्षीय भेला र मोटर साईकल र्याली गर्ने, १३ गते काठमाडौंमा मोटर साइकल र्याली, माघ २१ देखि अनिश्चित कालसम्म भन्सार विभाग घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
अर्थविद् प्रा.डा. गोपिलाल न्यौपानेले नेपालको अर्थतन्त्र प्रोडक्टिभ हुन नसकेको बताए । अर्थतन्त्रले आम नागरिकलाई सपोर्ट गर्न नसकेको उनले बताए । नेपालको अर्थतन्त्रमा कर्मचारीतन्त्रले अनाधिकृत रुपमा लाभ लिएको र त्यो जाहेज नरहेको उनको भनाइ छ । उनले देशका १० लाख मानिसहरुले नेपाली जनताबाट उठेको राजश्व खाइरहेको बताए । नेपालमा व्यक्तिगत सम्पत्तिको अधिकारनै नरहेको उनको दाबी छ । राज्यले सबै चिज व्यापार गर्ने हुँदा देश अगाडि बढ्न नसकेको उनको भनाइ छ ।
हिजो पञ्चायती व्यवस्थामा र अहिलेको व्यवस्थामा पनि राज्यले व्यापार गरिरहेको उनले टिप्पणी छ । उनले पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्रको व्यवस्था र अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले पनि व्यक्तिलाई व्यापार, व्यवसाय र रोजगारी दिन नसकेको टिप्पणी गरे ।
गरिब र धनीबीचको ग्याप नघटेको र जनताका समस्या जस्ताकोतस्तै रहेको उनको भनाई छ । अहिले नेताहरुकै कारणले ५० जना मानिसहरुले चोकमा उभिएर यो व्यवस्था फाल्छौं भन्दा नेताहरु डरले काम्ने अवस्था आएको उनको भनाइ छ । दौरा सुरुवाल टोपी र कोट लगाउँदैमा अब यो देश सुरक्षित नहुने उनले बताए । साथै, व्यवस्था बचाइराख्न देश सञ्चालन गर्नेहरुले असल चरित्र निर्माण गर्नुपर्ने उनको सुझाव छ ।
‘दौरा सुरुवाल, टोपी र कोट लगाउँदैमा अब यो देश सुरक्षित छैन । हुँदैन । हामीले अर्थतन्त्र सुधारौं । व्यवस्था ठीक छ । यो भन्दा उत्तम व्यवस्था मैले अन्त देखेको छैन ।’ उनले भने, ‘तर, यसका सञ्चालक र सञ्चालकको स्कुलिङ, यो व्यवस्था अनुकूलको चरित्र हामीले निर्माण गर्न सकेनौं भने यो व्यवस्था जान्छ ।’