Logo

नोबेल मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



काठमाडौं, २७ पुस । भोजपुरको दुईवटा गाँउ पालिकामा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पुस २३ गते भोजपुर जिल्लाको हतुवागडी गाउँपलिका– २, घोडेटार बजारस्थीत सगरमाथा माध्यामिक विद्यालयमा र २४ गते आमचोक गाउँ पालिका– ४ स्थित चण्डेश्वर माध्यामिक विद्यालय, बलङखामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

स्वास्थ्य शिविरमा दुई हजार चार सय १८ जना विरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण र उपचार भएको छ । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको मेडिसिन, प्रसुति तथा स्त्री रोग, सर्जरी, हाडजोर्नी, नाक, कान, घाँटी, दन्त रोग, बाल रोग, आँखा रोग लगायतका विभागका विशेषज्ञ चिकित्सक सहितको बृहत स्वास्थ्य शिविरमा दूई सय ७५ जना विरामीको अल्ट्रासाउण्ड (भिडियोएक्सरे), एक सय २६ जनाको ईसीजी, तीन सय ६१ जनाको प्रयोगशाला परीक्षण गरिएको थियो ।

निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमहरुमा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बराल, नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका संस्थापक एवं प्रतिनिधी सभा सदस्य माननीय डा.सुनिल कुमार शर्मा, नेपाली काँग्रेस भोजपुर जिल्ला सभापति तथा प्रदेश सभा सदस्य माननीय विनोद बान्तावा, प्रदेश सभा सदस्य मान बहादुर लिम्बु, भोजपुर नगरपालिका प्रमुख कैलाश कुमार आले, काँग्रेस क्षेत्रीय सभापति मदन खुलाल, जिल्ला समन्वय समितिका कोमल तुलुङ्ग राई, आमचोक गाँउपालिका अध्यक्ष अशोक राईलगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

भोजपुरको विकट स्थानहरुका बासिन्दाहरुमा विशेषज्ञ स्वास्थ्य उपचार सेवा पु्र्याउने उद्देश्यले माननीय विनोद वान्तावाको विशेष समन्वय र माननीय डा.सुनिल कुमार शर्माको सकृयतामा नोबेलको विशेषज्ञ चिकित्सक स्वास्थ्य टोलीबाट २ दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

कार्यक्रमका दौरान माननीय डा. शर्माले उक्त शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका अतिविपन्न विरामीहरु एक सय ३८ लाई थप उपचारको लागि नोवेल मेडिकल कलेज आँउदा अस्पताल सेवा निःशुल्क गरिने उद्घोष गरे । नोवेलले विभिन्न संघ सस्थाहरुको समन्वयमा पूर्वी नेपालका विभिन्न स्थानहरुमा नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविरहरुको आयोजना गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot