काठमाडौं, २८ पुस । नेकपा (माओवादी केन्द्र) ले पार्टी एकताका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा संयोजन समिति बनाउने भएको छ । आज (शनिबार) बसेको पार्टी स्थायी कमिटी बैठकले प्रचण्डको नेतृत्वमा समिति बनाउने निर्णय गरेको हो ।
साथै, जनतासँग माओवादी अभियानले पार्टीमा केही आशा पलाएको बैठकले निश्कर्ष निकालेको छ । माओवादीले आगामी फागुन १ गतेदेखि ३ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकमा विधान अधिवेशनसँगै रिपोर्टिङ, कार्य विभाजन र राष्ट्रिय सभाको निर्वाचनका साथै अन्य विविध विषयमा छलफल भएको पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए ।
‘फागुनको १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय भयो । त्यसका लागि प्रतिनिधिहरु छान्ने क्राइटएरियाहरु बनेको छ ,’– उनले भने । उनले अर्को स्थायी समिति बैठक माघको २६ गतेका लागि तय भएको बताए । त्यसैगरी, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले समेत पार्टी एकताको लागि तयारी थालिसकेको छ । नेसपाले पार्टी एकताको तयारी पूरा गरेर माओवादीको प्रतिक्रिया कुरेर बसेको छ ।