काठमाडठौं,२९ पुस । सत्ता गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारका लागि भोट मागेका छन् । गठबन्धनका शीर्ष नेताहरुले आफ्ना उम्मेदवारहरुको नामावली सार्वजनिक गर्दै उनीहरुका लागि भोट मागेका हुन् ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि नेताहरुले संयुक्त अपील जारी गरेका छन् ।
‘राष्ट्रियसभाको निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार हामी सबैका साझा उम्मेदवार हुन् । राष्ट्रियसभा निर्वाचनको क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्दछन् । यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनितिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो,’ अपिलमा भनिएको छ ।
गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा नाउपा र जनमोर्चा गरी सात दलको साझा अपील छ । ‘नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका हौं । देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो । देशको उन्नतिका लागि राजनीतिक स्थीरता पूर्वशर्त हो । लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थीरता, दिगो शान्ति, शुसासन र समृद्धिका लागि प्रतिवद्ध छौ र सदैव निष्ठापूर्वक क्रियाशील रहने प्रतीज्ञा गर्दछौ,’ अपिलमा भनिएको छ ।
यस्तै गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेको सात दलको भनाइ छ । ‘हामी सम्पूर्ण मतदातालाई राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका देहाय बमोजिमका साझा उम्मेदवारलाई मतदान गरी अत्यधिक मतले विजय गराउन हार्दिक अपील गर्दछौं,’ सात दलको अपिल छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसका १०, माओवादीका ६, एकीकृत समाजवादीका २ र जसपाका १ उम्मेदवार छन् ।
संयुक्त अपीलमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नाउपा अध्यक्ष रञ्जिता चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर छ ।