भक्तपुर, २६ पुस । नेसनल प्याव्सन भक्तपुरले आफ्नो २६औँ स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान एवं संसदमा पेश भएको शिक्षा विधेयकको बारेमा छलफल चलाएको छ । होटल सिटी गाऊ भक्तपुरमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला अध्यक्ष संजय खड्काले २६औँ स्थापना दिवस मनाईरहदासमेत देशको शिक्षाको अवस्थालाई हेर्दा खुशी हुने अवस्था नरहेको धारणा राखे ।
निजी लगानीको विद्यालयलाई हाल गुठीमा लैजानु पर्छ भन्ने बहस चलिरहेको भन्दै उनले आपत्ति जनाए । उनले. विद्यालय शिक्षा केहि सुधारोन्मुख भएको बेला यसलाई ध्वस्त पार्ने खेल भएको आरोप लगाए । खड्काले सार्वजनिक विद्यालय सुधार गर्दै लानुपर्ने र.सामुदायिक शिक्षाले समग्र देशको शिक्षालाई निः शुल्क र अनिवार्य गराएर गुणस्तरमा वृद्धि गर्दै लानसके निजीको आवश्यकतामा स्वतः कमी आउने बताए ।
त्यसैले तत्काल निजीलाई आक्रमण गर्ने बन्द गराउने खालको शिक्षा निती ल्याएमा कक्षा १२ सम्मको आत्मनिर्भर भएको शिक्षामा पनि गुणस्तर शिक्षाको खोजीमा छिमेकी देशमा हाम्रा बालबालिका पढाउन पठाउने दिन आउन सक्ने उनको भनाइ छ । अध्यक्ष खड्काले उच्च शिक्षामा सीप र प्रविधिसहित रोजगारमुखी शिक्षा ऐन ल्यार्इ यूवा शक्तिलाई विदेश पलाएन हुनबाट रोक्नुपर्ने बताए ।
नेसनल प्याव्सन भक्तपुरका सदस्य विद्यालयका संचालकहरुको उपस्थितिमा गरिएको सो कार्यक्रममा नेसनल प्याव्सन केन्द्रीय सदस्य एवं जिल्लाका सल्लाहकार जिबि खड्काले नीजी विद्यालयमा थप लगानी गरी सुधार्दै लैजानु पर्ने बताए । अभिभावकहरुको चाहना बमोजिम युग सुहाउँदो शिक्षा दिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, जिल्ला बरिष्ठ उपाध्यक्ष शिवकृष्ण कवां, उपाध्यक्ष राम प्रसाद खाताखो, सचिव कुमार थापामगर, कोषाध्यक्ष विक्रमथापा लगायत जिल्ला पदाधिकारी, पूर्व पदाधिकारी र सदस्यहरु सबैले आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा वक्ताहरुले निजी लगानीमा सञ्चालन भएको विद्यालहरुको सम्पत्तिको सुरक्षा गर्नु पनि सरकारको दायित्व रहेको बताए । सरकारले हालसम्म निजी स्कुलले गरेको योगदानलाई पनि मूल्याकंन गरी आउने शिक्षा ऐनमा उपर्युक्त स्थान दिनु पर्ने उनीहरुको भनाइ छ । साथै, रोजगार र सुनिश्चित भविष्यको खोजीमा उच्च शिक्षा पढ्ने बाहनामा हजारौं यूवाले देश छोडिरहेको अवस्थामा यूवाहरु देशमा नै अवसर पाउने खालको अबको शिक्षा ऐन निर्माण गरिनुपर्नेमा उनीहरुको जोड छ । प्रभावकारी शिक्षा ऐन निर्माणका लागि निजी स्कुलले खेल्नु पर्ने भूमिकामा सदैव तयार रहने निजी विद्यालय संचालकहरुको भनाई थियो ।