Logo

प्रचण्ड बाख्रा हुन्, जो पलायो त्यहीँ चर्न जान्छन्ः एमाले नेता शाही



काठमाडौं, १ माघ । नेकपा (एमाले) का नेता दयालबहादुर शाहीलेले देश विग्रिनुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सबैभन्दा बढि हात रहेको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले मिलेका कांग्रेस, माओवादी जनयुद्ध हुनु अगाडिनै नमिल्दा देशले यतिधेरै क्षति ब्यहोर्नु परेको टिप्पणी गरे । साथै, तत्कालीन १० वर्षे द्वन्द्व पनि शक्ति केन्द्रको इशारामा भएको उनको आरोप छ । उनले नेपाल निल्न द्वन्द्व खडा गरिएको भएपनि त्यो पुरा नभएको बताए ।

‘देश विग्रिनुमा शेरबहादुर दाइ र प्रचण्डको हात छ । उहाँहरु अहिले मिल्नुभयो । यो १८ हजार मान्छे नमार्दै मिल्नुपथ्र्यो । एक शक्तिले उहाँहरुलाई झगडा गर्न भन्यो उहाँहरु झगडिनु भयो । यहाँ नेपाल निल्न द्वन्द्व खडा गरेको थियो । त्यो पुरा नभएपछि उहाँहरुलाई मिलाइदियो,’– उनले भने ।

प्रचण्ड गिरिजाबाबु जिबित हुँदासम्म शेरबहादुर देउवालाई प्रचण्डले प्रतिगामीका मतियार र लोकतन्त्र दरबारलाई बुझाउने पात्रका रुपमा चित्रण गर्ने गरेको उनले बताए । गिरिजाको निधनपछि प्रचण्डले जो पलाउँछ उतै चर्दै हिँडेको बताए । बाख्राले झै प्रचण्डले पनि देउवा पलाउँदा देउवातिर र ओली पलाउँदो ओलीतिर जाने गरेको बताए ।

‘प्रचण्ड बाख्रा हुन्, जो पलाए उहीँ चर्न आउनेवाला हुन् । ओली पलाए ओली कहाँ जान्छन्, गिरिजा पलाए गिरिजा कहाँ जान्छन् । देउवा पलाए देउवा कहाँ जान्छन्, उनी बाख्रा हुन् । उनको बोली र वचनको ठेगाननै हुँदैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्