काठमाडौं,१ माघ । कप्तान विनोद भण्डारीको शानदार शतकको मद्दतमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मीले मधेश प्रदेशलाई ३२१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३२० रन जोड्यो । आर्मीका लागि कप्तानसमेत रहेका भण्डारीले ८९ बलमा ९ चौका र ४ छक्का हिर्काउँदै शतक पूरा गरेका हुन् । उनले पाँचौ विकेटका लागि अर्का ब्याटर कुशल मल्लसँग मिलेर १३४ रनको शतकीय साझेदारी गरिरहेका थिए । भण्डारी ११३ रनमा आउट भएका थिए ।
त्यस्तै विवेक यादव र कुशल मल्लले समान ३७ रन जोड्दा सन्तोष कार्की ४२, इमरान शेखले २६ र भीम सार्कीले १८ रन जोडे । वसिर अहमदले १६ रन थप्दा आर्मीले अतिरिक्तमा पनि १६ रननै पाएको थियो ।
बलिङतर्फ मधेशका रञ्जित कुमारले ५ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले ४१ रन खर्चिएर ५ विकेट लिँदा विशाल पट्टेलले २ विकेट लिए । मधेशले पहिलो खेलमा कोशीलाई हराउँदा आर्मीको यो पहिलो खेल हो ।