Logo

तस्बिरमा हेर्नुहोस् टुँडिखेलमा माघीको रौनकता



काठमाडौं,१ माघ । थारु तथा मगर समूदायले आज धुमधामसँग माघी पर्व मनाईरहेका छन् । यस वर्ष पनि टुँडिखेलमा थारू राष्ट्रिय माघ (माघी) महोत्सव आयोजना गरिएको छ । यस अवसरमा वसन्तपुरबाट झाँकीसहित टुँडिखेलसम्म र्‍याली गरिएको छ । माघी पर्वमा पाक्ने परिकार र थारू पहिरन कार्यक्रमको मुख्य आकर्षण छ ।

थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ ।

आजको दिनमा थारूले आफ्ना चेलीबेटीलाई घरमा बोलाउने, टीका लगाइदिने, चामल, नुन, तरकारी, गेडागुडी राखेर निश्राउ (खाद्य परिकार) बनाएर दिने गर्दछन् । नयाँ वर्षका रुपमा मनाउने यस पर्वमा थारूले वर्षभरि गर्ने कामको योजना बनाउने, नयाँ मतवाको चयन गर्नेलगायत काम गर्छन् । माघी पर्वलाई थारू समुदायको मौलिक संस्कृतिका रुपमा मनाइन्छ ।

पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पीठोको एक परिकार), माछालगायत परिकार बनाएर जाँड, रक्सीका साथै विभिन्न परिकार बनाएर खाने, रातभर ढुमरु (लोक बाजा) गाउने र नाचगान गर्ने प्रचलन छ । दाङसहित पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारूले यस पर्वलाई धुमधामका साथ मनाउने गर्दछन् । 

तस्बिरहरु: मुकुन्द कालिकोटे / रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot