Logo

कोशीविरुद्ध एपीएफको सहज जित, कप्तान रोहितको अलराण्डर प्रदर्शनमा शीर्ष स्थानमा उक्लियो



काठमाडौं,१ माघ । विभागीय टिम नेपाल एपीएफ क्लबका कप्तान रोहितकुमार पौडेलले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कोशी प्रदेशविरुद्धको खेलमा अलराण्डर प्रदर्शन गरेपछि लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा एपीएफले कोशीलाई ४ विकेटले पाखा लगाएको छ ।

कोशीले दिएको १३६ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । एपीएफका लागि रोहितले ५३ बलमा ९ चौका र ३ छक्का हिर्काउँदै ८० रनको आक्रामक पारी खेलेका थिए । त्यस्तै सुमित श्रेष्ठले २० रन थप्दा प्रजवल साहीले २२ रन जोडे । यो जितसँगै २ खेलबाट ४ अंक जोडेको एपीएफ शीर्ष स्थानमा रहँदा कोशीले भने लगातार २ हार भोगेको छ ।

रोहित प्रधानमन्त्री कपको पूर्वसन्ध्यामा अर्को विभागीय टिम त्रिभुवन आर्मी छाडेर एपीएफमा भित्रिएका थिए । उनी पहिलो खेलमा ब्याटिङमा २ रनमा आउट हुँदा बलिङतर्फ भने ४ विकेट लिँदै टिमलाई विजयी सुरुवात गराएका थिए भने आजपनि बलिङमा उनले तीन विकेट लिएका छन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको कोशी ४४.३ ओभरमा १३५ रनमा अलआउट भएको थियो ।

कोशीका लागि फिदोर अन्सारीले ५५ रनको अर्धशतकीय पारी खेले । कप्तान अंकित १३ रनमा क्याच आउट हुँदा, सोनु अन्सारीले २० रन बनाए । आशिष भट्टराई १० र सोनु मण्डलले ११ त्यसअघि रन बनाए । अन्य कुनैले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफका लागि रोहित पौडेल र अभिनास बोहोराले समान ३/३ विकेट लिए । अमर रौतेलाले २ विकेट लिए, भुवन कार्की र श्याम ढकालले १/१ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot