काठमाडौं, १ माघ । सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी न्यायाधीश पत्नि आरती गिरीले न्यायको अनुभूति नपाएको कारण उक्त बाटो अबलम्बन गर्न बाध्य भएको बताएकी छन् । जनचेतना समाज परिवर्तन नेपालले आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको ‘न्यायिक अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै उनले राज्यले बाँच्न नदिएको बताईन् । आरती निलम्बित न्यायाधीश भुवन गिरीकी श्रीमति हुन् ।
‘यो राज्यले बाँच्न दिँदैन । अदालतले मलाई न्याय दिँदैन म के गरुँ ? वर्षदिन भन्दा पनि धेरै भइसक्यो । मेरा सम्पुर्ण प्रमाण हुँदाहुँदै पनि न्यायधीश, न्यायमूर्ति जसले तपाईँ हामीलाई न्याय चलाउने न्यायमूर्तिबाट म बलात्कृत भएको छु,’– उनले भने ।
निलम्बित न्यायाधीश गिरीलाई कानुनको कठघरामा उभ्याउनुभन्दा राजनीतिकरण, दवाब, प्रभाव र पहुँचका आधारमा संरक्षण गरिएको उनले बताईन् । न्यायाधीश गिरीलाई कांग्रेसकै केही नेताहरुले संरक्षण गरेको उनको आरोप छ ।
सम्बन्ध विच्छेद मुद्दा विचाराधीन रहेको अवस्थामा निलम्बित न्यायाधीश गिरीले आफूलाई बन्धक बनाएर पटक–पटक बालात्कार गरेको उनको आरोप छ ।
निलम्बित न्यायाधीश गिरीलाई थुनामा राखेर कारबाही अगाडि बढाउन उनले नेपाल सरकारसमक्ष आग्रह गरिन् ।
नेपाली कांग्रेस विपी पार्टीकी सहमहामन्त्री इन्दिरा अधिकारीले न्यायलय सही ढंगले नचलेको टिप्पणी गरेकी छन् । कानुनी राज्यमा न्याय मर्न नहुने उनको भनाइ छ ।
‘एउटी नारीले ममाथि बलात्कार भयो, न्याय दे सरकार, न्याय दे न्यायलय भन्दाखेरी पनि न्याय नपाएर चिच्याएर कहिले अनशन, अहिले आत्मदाहको प्रयास गर्दा यो राज्यलाई पनि अत्यन्त बोझ भएको छ । किन भने न्यायलय सही ढंगले चलेको छैन,’– उनले भनिन् ।
आरतीको ज्यान तलमाथि भएको खण्डमा न्यायाधीश गिरीलाई तीन करोड नेपालीले नछोड्ने उनको चेतावनी छ । आरती र भुवनबीचको विवाद निश्पक्ष ढंगले छानविन हुनुपर्ने उनको भनाइ छ ।
सामाजिक अभियन्ता कविन्द्र त्रिपाठीले आरतीमाथि न्यायाधीश गिरीले बलात्कार गरेको भन्ने प्रमाणहरु हुँदाहुँदै पनि अन्यायमा परेको बताए । आरतीले न्याय नपाए न्यायलयमा पनि विरोध हुने उनको चेतावनी छ ।
वक्ताहरु धर्मेन्द्र यादव, महिला संघ विपीकी सभापति राधा खड्काले आरतीको न्यायका लागि सबैले सहयोग गर्न आग्रह गरे ।