माघ १, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पूर्वलाई किरात प्रदेश बनाउनुपर्छ भनेर अन्तिम समयसम्म प्रयास गरेपनि निर्वाचनका बेला आएको मतका कारण निर्णायक बन्न नसकेको बताएका छन् । आज (सोमबार) काठमाडौंको टुंडिखेलमा मगर समुदायले आयोजना गरेको माघी पर्वको अवसरमा बोल्दै उनले किरात जातिको कुरा नभएर इतिहास, संस्कृति र सभ्यता भएकाले कोशिस गरेपनि सफल हुन नसकेको बताए । उनले परिवर्तन ल्याउनका निम्ति सबैभन्दा धेरै बलिदान गरेका र उक्त क्रान्तिको नेतृत्व गरेकाहरुको हात बलियो नहुँदा पहिचानको मुद्दा ओझेलमा परेको बताए ।
‘मैले पूर्वलाई किरात प्रदेश बनाउन पर्छ भनेर अन्तिमसम्म प्रयास गरेकै हो । मैले निर्वाचनको क्रममा पनि किरात भनेको जातिको कुरा होईन, इतिहास, संस्कृति र सभ्यताको कुरा हो भनेकै थिएँ । तर, दुर्भाग्य हाम्रो पार्टी निर्णय गर्नसक्ने हैसियतले चुनावबाट आउन सकेन । परिणाम तपाईँ हामीले भोगिराखेका छौं ।’ उनले भने, ‘जसले यो परिवर्तन ल्याउनका निम्ति सबैभन्दा धेरै बलिदान गर्यो, जसले यसको नेतृत्व गर्यो त्यसको हात बलियो भएन भने दुर्भाग्यपूर्ण परिस्थिति आउन सक्दोरहेछ ।’
साथै, उनले सरकार नेपालका प्रथम शहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सकारात्मक रहेको बताए । निरंकुशताका विरूद्ध सङ्घर्षका योद्धा लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने उनको भनाइ छ । उनले त्यसका लागि आफ्नो तर्फबाट पहल गर्नेसमेत प्रतिवद्धता व्यक्त गरे ।
‘‘शासकवर्गको कठोर निरंकुशताविरूद्ध लड्न जनस्तरबाट उठेका एक क्रान्तिकारी नेता लखन थापालाई राष्ट्रिय विभूति बनाउनुपर्छ भन्ने तपाईहरूको मागप्रति म पूर्ण रूपमा सहमत छु । यसले देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताको विरूद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण शहिदहरूप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरूको सम्मान हुनेछ,’– उनले भने ।
माघी कार्यक्रममा मगर र थारु समूदायको उपस्थितिले पहिचान र अधिकारको निम्ति, आफ्नो संस्कृति र सभ्यताको निम्ति नेपाली जनतामा ठूलो चेतना आएको आफूले महशुस गरेको पनि उनले बताए । उनले उक्त चेतना आउनुमा आफूले नेतृत्व गरेको आन्दोलनको प्रभाव छ भन्ने कुराले विशेष गर्व महशुस हुने गरेको बताए ।