काठमाडौं, १ माघ । नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाएर माघे सङ्क्रान्ति पर्वका मनाइएको छ । गोरु जुधाइलाई प्रतियोगिता र प्रतिस्पर्धा गरेर पर्व मनाउने पुरानो शैलीलाई निरन्तरता दिँदै यस वर्ष पनि नुवाकोटको तारुका, बेत्रावती, पञ्चकन्या, शेराबगरलगायत स्थानमा गोरु जुधाइएको हो ।
गोरु जुधाइ मेलाका लागि नेपालमै उद्गमस्थल मानिएको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा १७ हल र विदुर नगरपालिका–१० स्थित रसुवाको सङ्गमस्थल बेत्रावतीमा नौ हल गोरु जुधाइएको छ । पञ्चकन्या गाउँपालिका– ३ पीपलडाँडामा आठ हल र शिवपुरी गाउँपालिका– ५ शेराबगरमा चार हल गोरु जुधाएर माघेसङ्क्रान्ति पर्व मनाउने नुवाकोटको फरक शैलीलाई निरन्तरता दिइएको हो ।