Logo

ह्याट्रिकसहित सूर्य तामाङले ६ विकेट चट्काएपछि मधेशविरुद्ध बागमती प्रदेशको शानदार जित



काठमाडौं,२ माघ । युवा बलर सूर्य तामाङले ह्याट्रिक विकेटसहित ६ विकेट चट्काएपछि प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले मधेश प्रदेशलाई हराउँदै पहिलो जित निकालेको छ । बागमतीले दिएको १९१ रनको विजयी लक्ष्य पछ्याएको मधेश २९ ओभरमा १०४ रनमा अलआउट भएपछि बागमतीले ८६ रनको फराकिलो जित निकालेको हो ।

मधेशका लागि पवन सर्राफले ४५ र निरज यादवले १५ रन जोड्नुबाहेक अन्य खेलाडीले राम्रो पदर्शन गर्न सकेनन् ।

मधेशलाई निराश बनाउनेक्रममा बागमतीका लागि सूर्य तामाङले घातक बलिङ गरे । सनसनीपूर्ण बलिङ गरेका तामाङले ९ ओभरमा १९ रन दिएर ६ विकेट चट्काए ।

उनले २९ ओभको पहिलो दोस्रो र तेस्रो बलमा लगातार रुपेश सिंह, राजेश यादव, र संसद अन्सारीलाई आउट गरे । तामाङले सोहि ओभरको अन्तिम बलमा रञ्जित कुमारलाई एलबीडब्लूमा पारेर आउट गर्दै टिमलाई पहिलो जित दिलाए । तामाङले जारी प्रतियोगिताको तीन खेलमा १२ विकेट लिँदै विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका छन् । त्यस्तै प्रतिश जिसिले पनि २ विकेट लिए ।

यसअघि प्रतिश जिसिले आक्रामक ब्याटिङ गर्दै अर्धशतक हिर्काएपछि बागमती प्रदेशले मधेश प्रदेशलाई १९१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।

माथिल्लो मूलपानी मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको बागमती ४९ दशमलव २ ओभरमा अलआउट हुँदै १९० रनमा समेटियो । बागमतीका लागि प्रतिशले ५९ रनको अर्धशतकीय पारी खेले । ५५ बलको सामना गरेका उनले समान ४ छक्का र चौका हिर्काए ।

त्यस्तै रविन जोशीले २१ रन थपेको खेलमा इशान पाण्डेले १५, विपीन आचार्यले १३, रित गौतमले १२ र रिजन ढकालले ११ रन थपे । बागमतीले ३८ रन अतिरिक्तरुपमा पाएको छ ।

बलिङतर्फ मधेशका रुपेश सिंह र अरनिको यादवले समान २ तथा राजेश यादव, रञ्जित कुमार, पवन सर्राफ र कप्तान हरिशंकर साहले समान १ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्