काठमाडौं,३ माघ । युवा स्पिनर सूर्य तामाङ पुन एकपटक चम्किँदा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशविरुद्ध विभागीय टिम त्रिभुवन आर्मी निरीह बन्दै ९८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
माथिल्लो मूलपानी मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ४३ ओभरको खेलमा २७।१ ओभरमा अलआउट हुँदै ९७ रनमात्र जोड्न सक्यो । आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन जोडे । दोस्रो बलमा जीवनदान पाएका भण्डारीले भीम सार्कीसँग मिलेर टिमको स्कोर उकास्ने प्रयास गरेका थिए । ४० बलको सामना गरेका उनले ४ चौका हिर्काए ।
त्यस्तै भीम सार्की १८ रनका आउट हुँदा ओपनर सन्तोष कार्की ९, इमरान शेख ५, वसिर अहमद ५, सन्दीप रजाइली १, साहव आलम ख७ रनमा आउट भए भने जितेन्द्र मुखियाले ८ र विवेक यादवले ११ रन थपे । कुशल भूर्तेल शून्य रनमा गोल्डेन डकआउट हुँदा सोमपाल कामी पनि शून्य रनमै क्याच आउट भए ।
उपाधि दावेदार आर्मीलाई निरीह पार्न बागमतीका लागि सूर्य तामाङ एक्लैले ५ विकेट चट्काए । ९ ओभर बलिङ गरेका उनले २ मेडन राख्दै मात्र २६ रन खर्चिउ । सूर्यले मंगलबार मधेश प्रदेशविरुद्धको खेलमा ह्याटिकसहित ६ विकेट लिएका थिए । जारी प्रतियोगिताको चार खेलमा उनले १७ विकेट लिइसकेका छन् ।
त्यस्तै रिजन ढकाल र प्रतिश जिसीले समान २ तथा कृजल गुरुङले एक विकेट लिए ।