काठमाडौं,३ माघ । डा.सिके राउत नेतृत्वको जनामत पार्टीले मधेश प्रदेश सरकारले गरेका कयन भ्रष्टाचारका घटनामा सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।
प्रदेश सरकार गठन भएको ६ वर्ष पूरा भएको अवसरमा एक विज्ञप्ति जारी गर्दै जनमत पार्टीले विभिन्न ‘भ्रष्टाचार काण्डहरु’ सार्वजनिक गर्न सरोकारवालाहरुलाई ध्यानाकाषर्ण गराएको छ।
जनता समाजवादी पार्टी नेपालका प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले नेतृत्व गरिरहकेो प्रदेश सरकारमा जनमत पार्टी २ मन्त्रालयसहित सरकारमा सामेल रहेको छ । मूख्यमन्त्री यादव नेतृत्वको सरकारमा हाल जनमतका तर्फबाट महेश प्रसाद यादव शिक्षा तथा संस्कृती मन्त्री र चन्दन कुमार सिंह श्रम तथा यातायात मन्त्रीको जिम्मेवारीमा रहेका छन् ।
तर, आफै सामेल रहेको सरकारले भ्रष्टार गरेको भन्दै जनमतका सचिव बीपी साहले आज एक विज्ञप्ति जारी गर्दै सबैप्रकारका भ्रष्टाचारका घटना छानबिन गर्न माग गरेका हुन् ।
मधेश आन्दोलन तथा मधेशी शहीदहरुको भावनालाई कुल्चिदै संघीयतालाई समाप्त पार्ने, मधेशी जनताको स्वाभिमान गिराउने कार्य जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकारबाट विगत ६ वर्षमा भएकोले सरोकारबालाहरुको ध्यानाकार्षण गराउँदै सम्बन्धीत पक्षबाट छानविन गरी कारवाहीको दायरामा ल्याई मधेशको स्वाभिमान उच्च राख्न उनले अनुरोध गरेका छन् ।
जनमतले गणतन्त्र, संघीयता, समावेशीता र मधेशवादलाई बदनाम हुनबाट जोगाउन र मधेश प्रदेशलाई देशकै सबल एवं स्वाभिमानी प्रदेशका रुपमा स्थापित गराउन आम समुदायसँग अपीलसमेत गरेको छ ।
जनमतले साइकल चोरी काण्ड, स्वच्छता काण्ड, बेटी ठगी काण्ड, जानकी मन्दिरमा भ्रष्टाचार काण्ड, सर्प काण्ड, शहीद परिवार ठगी काण्डले मधेशी समुदायको स्वाभिमान गिराएको दाबी गरेको छ ।
साइकल चोरी काण्डमा १० करोड ३३ लाखको भ्रष्टाचारको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा विशेष अदालतमा मुद्दा दर्ता भएको छ भने थपको छानविन हुन बाँकी रहेको छ । त्यस्तै स्वच्छता काण्डमा मुख्यमन्त्री स्वच्छता अभियानमाको झण्डै १ अर्ब २८ करोड बजेटमा अनियमितता भएको भन्दै अख्तियारद्धारा छानविनको क्रममा रहेको छ ।
मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बिमाको ६ हजार फाईल गायब गरी विमा रकम खातामा जम्मा नगरेको । छानविन गरी कारवाही हुन बाँकी रहेको जनमतको भनाइ छ ।
जानकी मन्दिरमा भ्रष्टाचार भएको जनमतको दाबी छ । मधेश प्रदेशको गौरब जानकी मन्दिरको विद्युतीकरण एवं सौन्दर्यीकरणमा करोडौंको भ्रष्टाचार भएको र छानविन हुन बाँकी रहेको छ । त्यस्तै झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सर्लाहीको नाममा १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार भएको भन्दै अख्तियारद्धारा विशेष अदालतमा मुद्दा दायर भएको र मधेश प्रदेश सरकारद्धारा शहीद परिवारलाई वितरण गर्ने भनि ल्याइएको भैंसी वितरणमा शहीद परिवारलाई ठगेको । अनुसन्धान हुन बाँकी रहेको साहको दाबी रहेको छ ।
मधेश प्रदेशका जनता एवं संघीयतालाई बदनाम गराउन जसपा नेतृत्वको सरकारले पछिल्लो आर्थिक वर्षमा नियम मिचेर गरेको अनुदान वितरण एवं रकमान्तर काण्ड, कृषि मन्त्रालयबाट वितरित कृषि अनुदान तथा कोल्ड स्टोर निर्माणमा भ्रष्टाचार काण्ड, भरत ताल सर्लाहीमा ४५ करोड भ्रष्टाचार काण्ड भएको सार्वजनिक लेखा समितिद्धारा ठहर, मधेश परिवहन काण्डसहितका दर्जनौं भ्रष्टाचार तथा अनियमितताका काण्डहरुमाथि मधेशी जनताले मूल्यांकन गर्नुपर्ने जनमतको ठहर रहेको छ ।
पछिल्लो एक वर्षमा प्रदेश सभालाई निक्कमा बनाई एउटा पनि विधेयक पारित गराउन नसकेको (आर्थिक विधेयक बाहेक), बनेका विधेयकहरुलाई कार्यान्वयनमा ल्याउन नसकेको, मधेश प्रदेश सरकारमा दलितलाई सहभागी गराउन नसकेको (जनमत पार्टीले सिफारिस गरेको दलित महिलाई मन्त्रीको शपथ नगराएको) जस्ता मधेश विरोधी गतिविधि भइरहेको जनमतको आरोप रहेको छ ।