काठमाडौं, ३ पुस । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले वर्तमान सरकारका काम कारबाहीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं सन्तुष्ट नरहेका बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली वहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारको नेतृत्वमा रहेका प्रचण्ड आफैं आफ्ना काम कारबाहीबाट सन्तुष्ट नभइरहँदा आफूहरु असन्तुष्ट हुनु स्वभाविक भएको बताए ।
‘प्रधानमन्त्री स्वयम् सन्तुष्ट हुनुहुन्न आफ्नो कामदेखि । उहाँले नै आफ्नो वक्तव्यमार्फत यो कुरा जानकारी गराइसक्नु भएको छ ।’ उनले भने, ‘जो मुख्य व्यक्ति हो उही सन्तुष्ट छैन भनेपछि अरु त झन असन्तुष्ट हुने भइहाले नि ।’
आफूहरुको अहिलेनै गठबन्धन छाडेर सरकारबाट बाहिरिने तयारी नभए पनि यो असन्तुष्टिले यो विन्दुमा पुर्याउन सक्ने उनले बताए । उनले पार्टीको बैठकमा गठबन्धनको उपादेयता र औचित्यबारे छलफल भइरहेको बताए ।
‘आज यतिखेरै यो गठबन्धनबाट बाहिर निस्किएर अर्को के गर्ने हो ? कसरी अगाडि बढ्ने हो ? भन्ने विषयमा महाधिवेशनले यसको टुङ्गो लगाउछ ।’ उनले भने, ‘अहिले गठबन्धनको उपादेयता र औचित्य सबैका बारेमा छलफल चलिरहेकै छ । तर, यतिखेर पार्टीमा यो गठबन्धनको विकल्पमा अर्को प्रगतिशील गठबन्धन बन्न सक्दैन भन्ने धरणा पनि छ ।’
सत्तारुढ गठबन्धनका दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले छुट्टै उपगुट बनाएर छलफल गरेको उनको आरोप छ । कांग्रेस र माओवादीले पहिला छलफल गरेर गठबन्धनमा रहेका अन्य दलहरुलाई पछाडिमात्रै सहभागी गराएको उनको दाबी छ । कांग्रेस र माओवादीले गठबन्धनमा रहेका अन्य दलहरुको आवाजलाई सुन्नेभन्दा जबरजस्ती आफ्ना निर्णयहरु लाद्ने काम गरेको बताए । File Photo/RN