काठमाडौं,३ माघ । ‘जहाँ युवा, त्यहाँ खेलकुद’ भन्ने नारालाई आत्मसात् गर्दै नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले संगठनका संस्थापक अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नामबाट स्थापित ‘केपी ओली कप’ फुटबल प्रतियोगिताको यस संसकरण आगामी फागुन ११ गतेबाट १९ गतेसम्म सञ्चालन गर्ने भएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवे, संघका इन्चार्ज तथा पूर्व मन्त्री महेश बस्नेतलगायतले प्रतियोगिताबारे जानकारी गराएका छन् ।
केपी ओली कप फुटबल २०७९ सालबाट प्रारम्भ गरिएको हो । एक वर्ष अघि सम्पन्न प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा सूचीकृत नेपालका ८ वटा ए डिभिजन टीमहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा मछिन्द्र फुटवल क्लवले उपाधि जित्दा र उपविजेता सातदेवाटो युथ क्लव भएको थियो ।
यसैको निरन्तरता दिँदै ‘केपी ओली कप २०८०’ आगामी फागुन ११ गते उद्घाटन भई १९ गते फाइनल प्रतियोगिता हुने युवा संघले जनाएको छ । फाइनल बाहेकका प्रतियोगिताहरु अखिल नेपाल फुटवल संघ (एन्फा) टेक्निकल सेन्टर, च्यासलमा हुनेछन् भने फाईनल खेल दशरथ रंगशाला, त्रिपुरेश्वर काठमाडौंमा आयोजना हुनेछ।
खेलमा नेपालको ए डिभिजन तथा विदेशी टीमलाई समेत सहभागि गराइने युवा संघले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ११ लाख, द्वितीय हुनेलाई पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, उत्कृष्ट गोलकर्तालाई रु ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई ५० हजार, म्यान अफ द म्याचलाई १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कारहरु प्रदान गरिने छ । त्यस्तै हरेक खेल विजेता टीमलाई २५ हजार नगद प्रदान गरिने छ ।
प्रतियोगिताको लागि खुल्ला आह्वान गरिने पनि युवा संघले जनाएको छ । सोही अनुसार सहभागी हुने टीमहरु छनोट गरिने छ । जसमा नेपालका ए डिभिजन तथा विदेशी टीमहरुलाई समावेश गराईने छ । कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरुको जोडदार प्रस्तुती रहने छ । कार्यक्रममा विभिन्न तह र तप्काका विशिष्ठ व्यक्तिहरु, एन्फा, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि, खेलाडी, कलाकार, पत्रकार, प्रायोजक, खेलप्रेमी जनसमुदाय लगायतको सहभागिता हुनेछ । त्यस्तै उद्घाटन तथा फाईनल खेलका क्रममा विभिन्न विशिष्ठ व्यक्तिहरुको उपस्थिती रहने युवा संघले जनाएको छ । खेलको विभिन्न सञ्चारका माध्यमबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।
कार्यक्रम सम्पन्न गर्नलाई आवश्यक पर्ने मुल आयोजक कमिटी तथा विषयसँग सम्बन्धीत उपसमितीहरु गठन गरिएको पनि युवा संघले जनाएको छ । यस्तै पुरस्कार तथा प्रतियोगिताको व्यवस्थापनको लागि आयोजकसँग विज्ञापन, प्रायोजन तथा सहयोगी संस्था, विभिन्न व्यवसायीक संस्था तथा व्यक्तिहरुबीच सम्झौता हुनेछ । प्रतियोगिताको सम्पूर्ण आर्थिक, सामाजिक तथा व्यवस्थापनसँग सम्बन्धीत कार्यहरु एकद्वार प्रणालीको माध्यमबाट हुनेछ । जुन आयोजकमा निहित रहने युवा संघले जनाएको छ ।
एमालेका अध्यक्षसमेत रहेका ओलीको नाममा यस वर्षबाट केपी ओली कप टी २० क्रिकेट प्रतियोगितासमेत सुरु भएको छ । मदन भण्डारी स्पोर्टर्स एकेडेमीको आयोजनामा गत महिना पोखरामा सम्पन्न प्रतियोगीतामा १२ टिमले भाग लिएका थिए । जसमा विभागीय टिम आर्मीलाई हराउँदै मधेश प्रदेशले उपाधि जितेको थियो ।