Logo

आँखा वरपरको हड्डी भाँचिएको उपचारबारे कार्यशाला गर्दै तिलगङ्गा अस्पताल



काठमाडौँ, ३ माघ । तिलगङ्गा आँखा अस्पतालले आँखा वरपरको हड्डी भाँचिएको उपचारबारे जानकारी दिन प्रत्यक्ष प्र्रसारणसहित कार्यशाला गर्ने भएको छ ।

अस्पतालले यही बिहीबार आँखा र वरपरको हड्डी भाँचिएका तीन जना बिरामीको शल्यक्रियासहितको कार्यशाला आयोजना गर्ने जानकारी दिएको हो । आज आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अकुलोप्लाष्टिक तथा अकुलर अंकोलोजी सर्जन डा पूर्णिमा राजकर्णीकार स्थापितले दुई दिने कार्यशालाबारे जानकारी दिँदै सिङ्गापुरको नेसलन युनिभर्सिटी अस्पतालका डा गङ्गाधर सुन्दरको नेतृत्वमा कार्यशाला आयोजना हुने बताइन् ।

डा सुन्दरको नेतृत्वमा डा पूर्णिमा, म्याग्जीलोफेसियल सर्जन प्रा डा आलोक सग्तानी र वरिष्ठ अकुलोप्लाष्टिक सर्जन प्रा डा रोहित सैजुको समूहले उक्त कार्यशाला सञ्चालन गर्नेछन् ।

उक्त समूहले आँखा र आँखाको वरपरको हड्डी भाँचिएका तीन जना बिरामीको शल्यक्रिया गर्ने छ । बिहीबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म गरिने शल्यक्रियालाई अस्पतालले प्रत्यक्ष प्रसारणमार्फत कार्यशालामा छलफल गरिनेछ । शल्यक्रिया प्रदर्शनसहितको कार्यशालाले ‘फ्र्याक्चर पुनःस्थापना’मा नेपालमै नयाँ आयाम थप्न भूमिका खेल्ने डा पूर्णिमाको भनाइ छ ।

“आँखा वरपरको हड्डी भाँचिएको पुनःस्थापना गर्नु एक जटिल र कठिन शल्यक्रिया हो”, डा पूर्णिमाले भनिन्, “यसपटक ओस्टियोपोर सामग्रीको समेत प्रयोग गरेर फ्र्याक्चर पुनःस्थापना शल्यक्रियाको प्रत्यक्ष प्रसारण गरी छलफल गर्ने तयारी छ ।”

उनका अनुसार प्रत्येक वर्ष तिलगङ्गा आँखा प्रतिष्ठानमा करिब पाँच सय बिरामी आँखाको चोटको उपचारका लागि आउने गरेका छन् । जसमा औषतमा आधा जतिलाई शल्यक्रियाको आवश्यकता हुन्छ । विगत एक वर्षदेखि हामीले म्याक्जिलोफेसियल सर्जनसँग सहकार्य गरेर मान्यताप्राप्त टाइटेनियम प्लेट प्रयोग गरी जटिल फ्र्याक्चरसमेत पुनःस्थापना गर्दै आएका छौँ ।

प्रतिष्ठानमा सन् २००४ देखि प्रा डा रोहित सैजुद्वारा आँखा र वरपरको हड्डी भाँचिएको पुनःस्थापना शल्यक्रिया हुँदै आएको छ । विगत एक वर्षदेखि अस्पतालले म्याक्जिलोफेसियल सर्जनसँग सहकार्य गरी मान्यताप्राप्त टाइटेनियम प्लेट प्रयोग गरी जटिल फ्याक्चरसमेत पुनःस्थापना गर्दै आएको छ ।

सोही दिन सर्जिकल कार्यशाला समापन भएपछि ‘अर्बिटल ट्रमा’को चुनौतीबारे निरन्तर चिकित्सा शिक्षा सत्र आयोजना हुने अस्पतालले जनाएको छ । यस्तै, शुक्रबार आँखामा थाइराइड रोगले पार्ने अवसरबारे छलफल गरिने उनले जानकारी दिए ।

“पछिल्लो समय थाइराइडको समस्या भएका मानिसहरु बढ्दै गएको र यसले आँखामा पनि प्रभाव पारिरहेको विशेषज्ञको अनुभव छ । उक्त सत्रमा ओकुलोप्लास्टिक सर्जन, नेत्र रोग विशेषज्ञ र हर्मोन रोग विशेषज्ञ सहभागी हुनुहुनेछ”, डा पूर्णिमाले भनिन् । कार्यशालाले शल्य चिकित्सकको सीप र ज्ञान बढाउन सहयोग पु¥याउने उनको भनाइ छ ।

कार्यशालामा ओकुलोप्लास्टिक सर्जन, नेत्र रोग विशेषज्ञ र म्याक्सिलोफेसियल सर्जनसहित एक सय जनाको सहभागिता जनाउने अस्पतालको भनाइ छ । 



प्रतिक्रिया दिनुहोस्

Screenshot