काठमाडौं,४ माघ । ओपनर आशिफ शेख र कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित विभागीय टिम नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशलाई २४७ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपूरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४६ रन जोड्यो । एपीएफका लागि ओपनर आशिफ शेखले ५९ रनको अर्धशतकीय पारी खेले । ६९ बलको सामना गरेका उनले ५ चौका र ३ छक्का हिर्काए ।
त्यस्तै कप्तान रोहितकुमार पौडेलले ७४ बलको सामना गर्दै ५ चौका र २ छक्काको मद्दतमा ५८ रन थप्दा अमर रौटेदा ४९रनमा नटआउट रहे । सन्दीप जोराले २० रन थप्दा सुमित महर्जनले ९ तथा भुवन कार्की र अभिनाश बोहराले समान ८ रन थपे ।
बलिङतर्फ मधेशका रुपेश सिंह र प्रदिप पासवानले समान ३ तथा रञ्जित कुमारले २ विकेट लिए ।