काठमाडौं,४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोगको ३३ औं स्थापना दिवसको अवसरमा आगामी माघ २८ गते ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन’ विषयक निबन्ध लेखन प्रतियोगिता गर्न लागेको हो ।
आयोग मातहतका सात वटै कार्यालय (ईटहरी, बर्दिबास, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुर) मार्फत कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुबीच सो प्रतियोगिता आयोजना गर्न लागेको आयोगले जनाएको छ । प्रतियोगितामा सहभागी हुन माघ १९ गतेभित्र सम्बन्धित कार्यालयमा निबन्ध पठाईसक्नुपर्ने छ ।
सहभागीमध्ये प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीलाई कार्यालयस्तरमा नै पुरस्कृत गरिने आयोगले जनाएको छ । आयोगले प्रथम, दितिय र तृतिय हुनेलाई क्रमश १५,१२ र १० हजार पुरस्कार दिने पनि उल्लेख गरेको छ ।
त्यस्तै आयोगले स्थापना दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगितासँगै सुशासन प्रवर्धन तथा भ्रष्टाचार नियन्त्रणमा योगदान पुर्याउने पत्रपत्रिका, अनलाइन सञ्चार माध्यम, टिभी, रेडियो, एफएम रेडियोबाट प्रकाशित तथा प्रसारित उत्कृष्ट समाचार तथा लेख रचनालाई समेत पुरस्कृत गर्ने आयोगले जानकारी दिएको छ ।
त्यसका लागि समाचार तथा लेख, रचना आयोगमा पठाउनुपर्नेछ । त्यस्ता सामाग्री न्यूनतम सात सय शब्दको हुनुपर्नेछ भने समाचारको हकमा सीमा तोकिएको छैन ।