Logo

सर्वोच्चले मलाई पुन: जेल पठाए नाउपाले चुनावमा दुई तिहाई बहुमत ल्याउँछ: रेशम चौधरी (भिडिओसहित)



काठमाडौं,४ माघ । नागरिक उन्मुक्ति पार्टीका नवनिर्वाचित अध्यक्ष रेशम चौधरीले आफू कानून र संविधानसम्मत अध्यक्ष बनेको प्रष्ट पारेका छन् । बुधबार राती प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै पूर्व सांसद चौधरीले आफू कानूनसम्मत नै अध्यक्ष बनेको र भविष्यमा कुनैपनि बाधा व्यवधान सिर्जना नहुने बताएका हुन् ।

‘निर्वाचन ऐन २०७३ को दफा १४ को उपदफा २ ले मलाई पार्टी अध्यक्ष बन्नबाट रोकेको छैन् । म कानुनको विद्यार्थी नभएपनि जुनबेला देखि जेल परे त्यो समयदेखि कानूनको बारेमा धेरथोर जानकारी राखेको छु । २०५१ सालमा तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायसहितको पूर्ण इजलासले आंशिक माफी र पूर्णमाफी सम्बन्धी फैसला गरेर नजिर प्रतिपादन गरेको छ’ चौधरीले भने ‘ निर्वाचन ऐनले बलात्कार, जबरजस्तीकरणी, घु र लागुऔषध जस्तो गम्भीर अपराधमा संगल्नले मात्र पार्टी खोल्न र पदाधिकारी बन्न नपाउने हो । मेरो हकमा त्यो लागू हुँदैन । राजनीति गर्न मलाई कुनैपनि रोकटोक छैन । राष्ट्रपतिबाट मैले पाएको पूर्णमाफीले सम्पूर्ण आरोपबाट मुक्त भन्ने अर्थ लाग्दछ’ उनले भने ।

उनले रेशम चौधरी पात्र केबल थारु भएकै कारण यो सबै भएको दाबी गरे । संविधान र कानूनले नै थारु समूदायको भएकै कारणले आफूहरुलाई विभेद गरिएको उनले आरोप लगाए । हिजो थारुहरुसँग धेरै जग्गाजमिन रहेको हुँदा त्यो खोस्नकै लागी सरकारले भूमि सुधार ऐन ल्याएको चौधरीले दाबी गरे ।

उनले नागरिक उन्मुक्ति पार्टीको भर्खरै सम्पन्न प्रथम अधिवेशनलाई लिएर भएको टिक्का टिप्पणीप्रति आपत्ति जनाए । कुनैपनि व्यक्तिले अर्काकोबारेमा टिक्का टिप्पणी गर्ने छुट कानूनले दिएको भएपनि हदै नाघेर आफू र आफ्नोबारेमा गलत टिप्पणी भएकोप्रति उनले आपत्ति जनाए । ‘ एउटा वर्ग र व्यक्तिलाई एउटा कानून र अर्को वर्ग र समूदायको व्यक्तिलाई एउटा कानून त्यो कदापी स्वीकार्य हुँदैन । तीनै तहको सम्मानीत अदालतले गरेको फैसलाप्रति मेरो टिप्पणी छैन । तर, सरकारले गर्नुपर्ने न्याय निरुपणको काम सरकारले गरेको हो । सरकारले रेशम चौधरीलाई न्याय दियो’ उनले भने ।

उनले आफूलाई आममाफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा विचाराधिन मुद्धाको फैसलालाई आफूले पूर्णरुपमा स्वीकार गर्ने बताए । ‘हिजो पनि सम्मानीत अदालतको फैसला मानेकै हुँ । आज पनि मान्छु । भोलि पनि मान्छु । कानून मान्दिन मैले भनेको छैन । तर, सम्मानीत अदालतले गरेको फैसला र फेरि हालिएको रिटबारे गलत ढंगले बहस सुरु गर्नु राम्रो भएन’ उनले भने ।

अध्यक्ष चौधरीले सर्वोच्चले आफूविरुद्धको रिटमा सुनुवाइ गरेर पुनः जेल पठाएमा आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने उद्घोष गरेका छन् । उनले बुढाबुढीको झगडा कसरी पारौ भनेर पत्रकारहरु लागिपरेको भन्दै आक्रोसमेत पोखेका छन् । तपाई जेल जानुभयो भने तपाईको पार्टीको अवस्था के हुन्छ भन्ने धमलाको प्रश्नमा रेशमले भने ‘ म पुन जेल गएभने पार्टीले २ हिताई बहुमत ल्याउँछ’।



प्रतिक्रिया दिनुहोस्