Logo

‘देश बर्बाद हुन लाग्यो भने ८४ को चुनाव कुर्न सकिँदैन, आन्दोलनमा होमिन तयार रहनू’



काठमाडौं,४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनको गोत्र निकम्मा र जात देशद्रोही भएको आरोप लगाएका छन् ।

बिहीबार पार्टी कार्यालय च्यासलमा एमाले निकट खेलकुद महासङ्घको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गठबन्धन सरकारले देश बर्बाद पार्न लागेको भन्दै सचेत रहन कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

ओलीले अहिलेको गठबन्धन लोभीपापीहरुको मिलेमतो भएकाले यसलाई भत्काउन गाह्रो हुने भन्दै आन्दोलनबाट सरकार हटाउन प्रयास गर्ने बताएका छन् । ‘जनताको बलमा आन्दोलनमा उत्रिन पर्ने, देश बर्बाद हुन बाट जोगाउनुपर्ने हुन सक्छ’ उनले भने पार्टीले सिठी बजाउँदा आन्दोलनमा पुग्ने गरी तयार हुन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

उनले भने,‘यस्तै अवस्था रहिरहे हामीले मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउनसक्छ। देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ । उस्तै परे हामीले गठबन्धन भत्काएर, यो लोभीपापीहरू नभत्किन सक्छन् । यीनिहरूको घाँटी एकैठाउँमा जोडिएको छ । त्यसैले हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यक छ । त्यसअघि हामीले आफूलाई संगठित गर्नुपर्छ ।’

अहिलेको गठबन्धन देशका लागि हानिकारक रहेको भन्दै उनले समय घर्किनुअघि नै निर्णायक कदम चाल्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्