Logo

रुपेश,निरज र पवनको शानदार प्रदर्शनमा उपाधि दाबेदार एपीएफविरुद्ध मधेशको रवाफिलो जित



काठमाडौं,४ माघ । मध्ययम क्रमका ब्याटर रुपेश सिंह र पवन सर्राफको उत्कृष्ट ब्याटिङमा उपाधि दावेदार विभागीय टिम एपीएफलाई हराउँदै मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा  दोस्रो जित निकालेको छ ।

आर्मीले दिएको २४७ रनको विशाल लक्ष्य पछ्याएको मधेशले ४८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । बलियो टिम एपीएफविरुद्ध शानदार जित निकाल्नेक्रममा मधेशका पवन सर्राफ र रुपेश सिंहले उत्कृष्ट ब्याटिङ गरे ।

रुपेश ७२ बलमा ४ चौका र ३ छक्कासहित ७२ रनमा अविजित रहँदा पवनले ६६ बलमा ५ छक्का र ४ चौकाको मद्धतमा ६४ रन जोडे । त्यस्तै निरज उादवले पनि ३ चौका र २ छक्कासहित ५२ रनको अर्धशतकीय पारी खेले ।

अभिषेक तिवारी १३ रनमा अविजित रहँदा अनिल शाहले २९, र कप्तान हरिशंकर साहले ८ रन थपे । मधेशले ११ रन अतिरिक्तमा पाएको थियो ।

बलिङतर्फ एपीएफका रोहित पौडेल र रमेश कुर्मीले समान २ विकेट लिएपनि त्यो जितका लागि प्रर्याप्त भएन् ।

यसअघि ओपनर आशिफ शेख र कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित विभागीय टिम नेपाल एपीएफ क्लबले मधेश प्रदेशलाई २४७ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो ।

कीर्तिपूरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४६ रन जोड्यो । एपीएफका लागि ओपनर आशिफ शेखले ५९ रनको अर्धशतकीय पारी खेले । ६९ बलको सामना गरेका उनले ५ चौका र ३ छक्का हिर्काए ।

त्यस्तै कप्तान रोहितकुमार पौडेलले ७४ बलको सामना गर्दै ५ चौका र २ छक्काको मद्दतमा ५८ रन थप्दा अमर रौटेदा ४९रनमा नटआउट रहे । सन्दीप जोराले २० रन थप्दा सुमित महर्जनले ९ तथा भुवन कार्की र अभिनाश बोहराले समान ८ रन थपे ।

बलिङतर्फ मधेशका रुपेश सिंह र प्रदिप पासवानले समान ३ तथा रञ्जित कुमारले २ विकेट लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्