काठमाडौं,४ माघ । गण्डकी प्रदेशलाई १०८ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ ।
जितको लागि २ सय २ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको गण्डकी ३०।२ ओभरमा ९३ रनमा अलआउट भएपछि सुदूरले सहज जित निकालेको हो । गण्डकीका लागि आश्विानी रानाले ६७ बलमा ४ चौकासहित सर्वाधिक २५ रन बनाए । कमल परियारले २२ रन बनाए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
गण्डकीलाई सस्तैमा रोक्नेक्रममा सुदूरपश्चिमका शेर मल्लले ८।२ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ५ विकेट लिए । गजेन्द्र बोहराले २, भोज राज भट्ट, नरेन साउद र मिलन बोहराले १–१ विकेट लिए ।
त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले किरण ठगुन्नाको अर्धशतकमा निर्धारित ५० ओभरमा २ सय १ रनमा अल आउट भएको थियो । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले ७३ बलमा ५ चौकासहित सर्वाधिक ६० रन बनाए । नारायण जोशीले ५६ बलमा २ चौका र २ छक्कासहित ४६ रन बनाए ।
नरेन साउद १३, टेक रावत १५, राजु रिजाल १६ र शेर मल्लले १९ रन बनाए । गण्डकीका विपिन खत्री र अंकित सुवेदीले ३–३ विकेट लिए । कमल परियार र अमृत गुरुङले २–२ विकेट लिए ।