काठमाडौं,५ माघ । वागमती प्रदेशका युवा ब्याटर आशुतोष घिरैयाले आफ्नो लयलाई निरन्तरता दिँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशविरुद्ध उत्कृष्ट शतक पूरा गरेका छन् ।
घिरैयाले यस प्रधानमन्त्री कपमा आफ्नो पहिलो शतक ९९ बलमा पूरा गरेका छन् ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीका लागि आशुतोषले ९९ बलमा १२ चौका २ छक्कासहित १०२ रनको शतकीय पारी खेलेका हुन् । उनी हाल १११ रन बनाउँदै क्रिजमा रहेका छन् ।
उनलाई रित गौतमले ४९ रन बनाएर साथ दिएका थिए । रित ४९ रनमा आउट हुन पुगे । यी दुईबीच दोस्रो विकेटका लागि १३१ रनको साझेदारी भएको थियो ।
आशुतोषले ब्यक्तिगत ४१ रनमा जीवनदान पाएका थिए । चोभार एन्डबाट आएका कमल खत्रीको दशौं ओभरको दोस्रो बलमा फस्ट स्लिपमा सुजन थपलियाले एक सहज क्याच छाड्दै जीवनदान दिएका थिए ।
कोशीलाई पहिलो सफलता वायाँ हाते तीव्र गतिका बलर कमल खत्रीले दिलाएका थिए । कमलको छैटौं ओभरको पहिलो बलमा ईशान पाण्डे लङअनमा सर्ट खेल्ने धुनमा मिड अनमा भुपाल लुईंटेलबाट ६ रनमा समातिए ।
कोशी सुरुवाती चारै खेलमा पराजित भएको छ । बागमतीले चार मध्य दुई खेल जितेको छ । पछिल्लो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले हराएको हुँदा बागमतीको मनोबल उच्च छ ।
ताजा अवस्थामा बागमतीले ३१ ओभरको समाप्तीमा २ विकेट गुमाएर १८१ रन जोडेको छ ।आशुतोष यसअघि पहिलो खेलमा नेपाल पुलिस क्लबविरुद्ध ९२ रनमा आउट भएका थिए । त्यो नै यसअघि उनको राष्ट्रिय स्तरमा सबैभन्दा उच्च स्कोर थियो ।