Logo

घिरैयाको शतकप्रेरित बागमती लगातार तेस्रो जित निकाल्दै दोस्रो स्थानमा, जितविहीन कोशीको पाँचौ हार



काठमाडौं,५ माघ । ओपनर आशुतोष घिरैयाको शानदार शतकप्रेरित बागमती प्रदेशले प्रधानमन्त्री कप क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ ।

कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार बागमती प्रदेशले लगातार तेस्रो जित दर्ता गर्नेक्रममा कोशीलाई ६४ रनले हराएको छ ।

बागमतीले प्रस्तुत गरेको २ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा कोशीले ४७।१ ओभरमा ओभरमा अलआउट हुँदै २ सय ९ रन मात्र जोड्न सक्यो । कोशीका लागि सुजन थपलिया र कप्तान अंकित सुवेदीले अर्धशतक प्रहार गरेपनि अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् ।

बलियो लक्ष्य पछ्याउने क्रममा कोशीका लागि कप्तान अंकित सुवेदीले ५३ तथा सुजन थपलियाले ५९ रनको अर्धशतकीय पारी खेल । सोनु अन्सारी २१ रन बनाएर आउट हुँदा मिनाश थापा पहिलो बलमै रनआउट भए । प्रतियोगितामा चौथो खेल खेलेका उनले पुनस् एकपटक रन जोड्न सकेनन् । ४ खेलमा उनले मात्र ३ रन जोडेका छन् ।

अंकित र सुजनले तेस्रो विकेटका लागि ६९ रनको साझेदारी गर्दै खेलमा कोशीको सम्भावना कायम राखेका थिए ।

फिर्दोस अन्सारीले ५ रन जोड्दा सुभान गहतराजले ४ रनमा आउट भए ।
आइश भट्टराई ३८ बलमा ३२ रन जोड्दै नटआउट रहे । उनले ३ चौका जोडे । हेमन्त राई १० रन जोड्दै रिजन ढकालको बलमा आउट भए ।

बागमतीका लागि इशान पाण्डेले ५ विकेट लिँदै जितको आधार तय गरे । त्यस्तै सूर्य तामाङले ४८ रन खर्चेर २ विकेट लिए । प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडी उनले ५ खेलमा १९ विकेट लिइसकेका छन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएका बागमतीका लागि आशुतोषले आक्रामक ब्याटिङ गर्दै करिअरको पहिलो शतक पूरा गरे । बागमतीले ४८।३ ओभरमा अलआउट हुनुअघि २ सय ७३ रन जोडेको थियो ।

आशुतोषले १ सय ११ बलमा १ सय १८ रन जोडे । उनले कुल १६ चौका र २ छक्का प्रहार गरे । आशुतोषले ९९ बलमा शतक पूरा गरे ।

त्यस्तै ओपनर इशान पाण्डे ६ रन जोड्दै क्याच आउट भएका थिए । त्यसपछि रित र आशुतोषले बलियो साझेदारी गर्दै इनिङ सुदृढ बनाए । रित ४९ रनमा आउट भए । बागमतीका लागि विकेटकिपर रविन जोशीले ४३ रनको योगदान दिए ।

कोशीका लागि अभ्यास तिम्सिनाले ३, कमल खत्री र हेमन्त राईले २(२ तथा फिर्दोश अन्सारीले १ विकेट लिए ।

तेस्रो पटक प्रधानमन्त्री कप खेलिरहेका आशुतोषले यसअघि पनि टियु मैदानमा भएको खेलमा राम्रो प्रदर्शन गरेका थिए । आशुतोषले यसअघि नेपाल पुलिस क्लबविरुद्ध पहिलो खेलमा ९२ रन जोडेका थिए । त्यसपछि नेपाल एपिएफ क्लबविरुद्ध पनि उनले ४१ रनको योगदान दिए ।

यस जितसँगै बागमती अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ५ खेलमा बागमतीको ३ जित र २ हारसँगै ६ अंक छ । सुदूरपश्चिम ३ खेलमा शत प्रतिशत जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । कोशी ५ खेलमा बिना कुनै अंक पुछारमा छ । गण्डकीले पनि ३ खेलमा कुनै अंक जोडेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot