Logo

गणतन्त्रको विकल्पमा वंशतन्त्र जनताका लागि स्वीकार्य हुन सक्दैन: उपमहासचिव पुन



काठमाडौं,५ माघ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका छन्।

गृहजिल्ला रोल्पाको घर्तीगाउँमा शुक्रबार राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उदघाटन गर्दै पुनले जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र र गणतन्त्रको विकल्प वंश परम्परामा आधारित निरंकुशतन्त्र हुन नसक्ने बताए।

‘जनता आफैंले आफ्ना धेरै राम्रा छोराछोरीमध्येबाट आफ्नो प्रतिनिधि चुन्ने व्यवस्था लोकतन्त्र हो। यस्तो उन्न्त विकल्प छोडेर जस्तो भए पनि राजाको जेठो छोरा नै राजा हुनुपर्ने, छोरी पनि नहुने वंशतन्त र वा परिवारतन्त्रको विकल्प जनताका लागि स्वीकार्य हुन सक्दैन’, पुनले भने, ‘पार्टीहरुको विकल्प पार्टी नै हो। नेताहरुको विकल्प असल नेता हो। लोकतन्त्रको विकल्प लोकतन्त्र र गणतन्त्रको विकल्प अझै राम्रो र परिमार्जित गणतन्त्र मात्र हो।’

पुनले मुलधारका राजनीतिक दलहरु र नेताहरुले जनतासँग संवाद गर्नुपर्ने र गल्ती गरेको भए सच्याउन तयार नुहुपर्ने पनि बताए। पुनले नेताहरुले मुलुकको विकास र जनतालाई भविष्य देखाउन सक्नुपर्ने बताए।

राजनीतिक दल, नेता र कार्यकर्ताहरुले आफ्नो दल र नेताले गरेका सबै ठीक, अरु सबै बेठीक तथा आफू सरकारमा भएका बेला गरेका सबै ठीक र अर्को सरकारमा हुँदा भएका सबै बेठीक भन्ने मनोवृत्ति त्यागेर राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने संस्कार बसाल्न जरुरी रहेकामा जोड दिए।



प्रतिक्रिया दिनुहोस्