Logo

दुर्लभ पंक्षी चिरकालिज लोप हुने अवस्थामा



म्याग्दी, ६ पुस । पाँच वर्षअघि म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहूँ हिदीको जङ्गलमा प्रशस्तै देखिएका दुर्लभ पक्षी चिरकालीज यस वर्ष एउटा पनि भेटिएन ।

त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र) विभागका केशव चोखालले एक वर्ष लगाएर म्याग्दी जिल्लाका विभिन्न ठाउँमा पुगेर गरेको अनुसन्धानबाट पाँच वर्षअघि यहाँ करिव ६० वटा चिरकालिज पाइएकामा उचित वातावरणको अभावका कारण अहिले ती चिरकालिजहरु नभेटिएको बताए ।

चिरकालिजका विषयमा निरन्तर अनुसन्धान गर्दै आएका चोखाल चिरकालिज संरक्षण अभियान लिएर कुहूँ पुगुका हुन् । उनले कृषकको साथीका रुपमा मानिएको चिरकालीज किसानबाट नै सुरक्षित हुन नसकेकाले लोप हुने अवस्थामा पुगेको बताए ।

कुहूँमा मात्रै होइन पछिल्ला केही वर्षयता उचित वातावरणको अभावका कारण यो पक्षी जिल्लाका अरू ठाउँबाट समेत लोप हुने अवस्थामा पुगेको चोखालको भनाइ थियो । गत वर्ष कालीगण्डकी क्षेत्रको पश्चिमी भेगमा चोखालको नेतृत्वमा नै गरिएको अनुसन्धानमा पनि चिरकालिजको सङ्ख्या घटेको पाइएको थियो ।

“विगत पाँच वर्षअघिसम्म कालीगण्डकी नदीको पश्चिम क्षेत्रमा चिरकालिज प्रशस्तै पाइन्थे । म्याग्दीमा गत वर्ष गरेको मेरो अध्ययनअनुसार डडुवा, थाइबाङ, हिदी, मुना, मुदी, खिबाङलगायत क्षेत्रमा चिरकालिज कम मात्रामा भेटिएका छन्,” अध्येता चोखालले भने, “तर यस वर्ष भने चिरकालिजका लागि उपयुक्त मानिएको भूगोल (हिदी) मा नै भेटिएनन् ।” सीमित सङ्ख्या, निश्चित बासस्थान, न्यून प्रजनन क्षमता, बासस्थानको अभाव र अवैध चोरी सिकारीलगायत कारणले सरकारबाट संरक्षित पक्षी चिरकालिज लोप हुने स्थितिमा पुगेको उनले बताए ।

चिरकालिजको संरक्षण अभियानअन्तर्गत जङ्गलमा नै पुगेर गरिएको अध्ययनअनुसार व्यापकरूपमा आगलागी, बन्दुक हान्ने, पासो थाप्ने, कतिपय स्थानमा त चिरकालिजलाई मारेर निर्यात गर्ने गरेको समेत पाइएको अनुसन्धानकर्ता चोखालले बताए । “एक वर्षअघि चिरकालिज भेटिएको स्थानमा समेत अहिले भेटिएन,” उनले भने, “बासस्थानमा जङ्गल विस्तार भएको छ तर त्यहाँ चिरकालिज छैनन् ।” व्यापकरुपमा भइरहेको जङ्गल विस्तार पनि चिरकालिज संरक्षणमा अर्को चुनौती भएको उनको भनाइ थियो ।

गत वर्ष कुहूको माथिल्लो भिर, थाइबाङको भिर र तातोपानी माथिको भिरमा चिरकालिज भेटिएकामा अहिले ती ठाउँमा एउटा पनि भेटिएका छैनन् । चिर संरक्षणमा जिल्ला वन डिभिजन कार्यालयले पहल गर्नुपर्ने आवश्यकता देखिएको चोखालले बताउनुभयो । भौगोलिकरूपमा चिर लोप हुँदै जानु गम्भीर विषय भएको उनको भनाइ छ । 



प्रतिक्रिया दिनुहोस्