काठमाडौं, ७ माघ । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आफ्नो पार्टी तत्काल सरकारबाट बाहिरिने अवस्था नरहेको बताएकी छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आजको दिनमा समाजवादी पार्टीले सरकार छोड्नेबारे छलफलनै नभएको बताएकी हुन् ।
‘आजको दिनमा समाजवादी पार्टीले सरकार छोड्ने भन्ने कुरा छैन । उहाँ (झलनाथ खनाल) हरुको काम खाली मन्त्री फिर्ता बोलाउने मात्रै हो भने त्यो राम्रो भएन । मलाई थाहा पनि भएन,’– उनले भनिन् ।
साथै, अहिलेनै पार्टीबाट पठाएका मन्त्रीहरु फिर्ता गर्नेबारे पनि पार्टीभित्र अहिले छलफल नभएको उनले बताईन् । पार्टीका नेताहरुले मन्त्रीलाई तार्गेट दिने र काम गर्न प्रोत्साहन गर्नुको सट्टा मन्त्री फिर्ता बोलाउने भनेर तर्साउने काम गरेको भन्दै उनले आपत्ति जनाईन् ।
मन्त्रीहरुको कार्यसम्पान प्रधानमन्त्रीले मूल्याङ्कन गर्छु भनेरको बताउँदै उनले पार्टीले पनि आन्तरिक रुपमा पनि मूल्याङ्कन गर्न आवश्यक रहेको बताईन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अहिलेको सरकारका बारेमा गरेको टिका–टिप्पणीलाई स्वभाविक मान्नुपर्ने उनको भनाई छ । प्रमुख प्रतिपक्षी दलले सरकारलाई दवाब, पहल कदमी र खबरदारी गर्नुलाई स्वभविक मान्नुपर्ने उनको भनाइ छ । प्रतिपक्षलाई प्रश्न उठाउने ठाउँनै दिन नहुने र प्रश्न उठिहालेपनि त्यसलाई निरुपण गर्न तयार हुनुपर्ने उनले बताए ।