काठमाडौं,७ माघ । कप्तान विपीन खत्रीको घातक बलिङसामू निरीह देखिएको कोशी प्रदेशलाई १४२ रनले हराउँदै गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विजयी सुरुआत गरेको छ ।
गण्डकीले दिएको १६८ रनको मधयम लक्ष्य पछ्याएको कोशी १५.२ ओभरमा अलआउट हुँदै २५ रनमा समेटिएपछि गण्डकीले १४२ रनको फराकिलो जित निकाल्दै पहिलो जित दर्ता गराएको हो । कोशीका लागि कप्तान अंकित सुवेदीले जोडेको ८ रननै सर्वाधिक रह्यो । सोनु अन्सारी, फिर्दोस अन्सारी र समिर कार्कीलाई शुन्य रनमा नै गुमाएको कोशीले मिनाश थापा र सोनु मण्डललाई १ रनमा गुमायो भने सुजन थपलिया २ रनमा बोल्ड आउट भए ।
गण्डकीलाई लज्जाजनक हार चखाउन गण्डकीका कप्तान विपीन खत्रीले घातक बलिङ गरे । ७ ओभर बलिङ गरेका विपीनले ३ मेडन राख्दै ७ रन दिएर ६ विकेट चट्काएपछि कोशीको पाली धरासायी बन्यो । त्यस्तै सन्दीप पराजुलीले ३ विकेट लिए ।
यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डीङ रोजेको कोशीले गण्डकीलाई ४८.२ ओभरमा १ सय ६७ रनमा अलआउट गरेको थियो । प्रतियोगितामा जितविहिन रहेका दुई टोलीबीचको खेलमा गण्डकीले सोचेजस्तो सुरुवात गर्न सकेन । शीर्षक्रमका ब्याटर अभ्यास तिमिल्सिको बलिङसामु चल्न नसक्दा गण्डकी एक समय ६ रनमा ३ विकेट गुमाएको दयनीय स्थितिमा पुगेको थियो ।
तर, गण्डकीका लागि मुस्कान थापा र कप्तान विपिन खत्रीले सातौं विकेटका लागि ७६ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याएका थिए । मुस्कानले तेस्रो नम्बरमा ब्याटिङ गर्दै ६७ रनको योगदान दिए । उनले ४२ औं ओभरमा आउट हुनुअघि १ सय २२ बल खेल्दै ७ चौका प्रहार गरे ।
फिर्दोस अन्सारीले फ्याँकेको इनिङको चौथो बलमै करण पंगेनी ४ रनमा आउट भएपछि मुस्कान ब्याटिङमा आएका थिए । त्यसपछि अर्कोतर्फ लगातार विकेट खस्दा मुस्कानले इनिङ बढाइरहे । अभ्यास तिम्सिनाले उत्कृष्ट बलिङ गर्दै शीर्षक्रम धराशायी बनाए ।
उनले समिर कँडेल र कृश ऐरलाई खाता नखोली पेभेलियन फर्काए । अश्वनी राना ६ रन र अमृत गुरुङ ४ रन जोड्दै उनकै शिकार बने । एक समय ३८-५ को स्थितिमा पुगेको गण्डकीलाई कमल परियारले १३ रन तथा कप्तान विपिनले ४२ रन जोड्दै उकासे । विपिनले ७१ बलमा ५ चौका र १ छक्कासहित ४२ रनको योगदान दिए ।
कोशीका लागि अभ्याससँगै फिर्दोस, कमल खत्री र सोनु मण्डलले १-१ विकेट लिए ।