Logo

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार तेस्रो जित, आर्मी १३ रनले पराजित



काठमाडौं,७ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकालेको छ ।

तेस्रो जित निकाल्नेक्रममा पुलिसले विभागीय टिम नेपाल आर्मीलाई १३ रनले पाखा लगाएको हो । खराब मौसमको कारण ३३ अ‍ोभरमा छोट्टयाईएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले १४१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।

१४१ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी३२।२ ओभरमा १२७ रनमा अलआउट भयो । आर्मीका लागि भीम सार्कीले ५२ रनको अर्धशतकीय पारी खेलेपनि टिमलाई हारबाट जोगाउन सकेनन् । त्यस्तै कुशल मल्लले ३५ रन थपेको खेलमा कप्तान विनोद भण्डारीले १९ रन जोडका थिए ।

बलिङतर्फ पुलिसका सागर ढकाल र ललित राजवंशीले समान ३ तथा रासिद खानलेृ २ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

यसअघि तीव्र गतिका बलर सोमपाल कामीको घातक बलिङको मद्दतले नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई मध्यम योगफलमा सिमित गरेको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ३१।४ ओभरमा १४० रनमा अलआउट भयो । खराब मौसमका कारण ढिलो सुरु भएको खेल प्रति इनिङ ३३ ओभरमा घटाइएको थियो ।

पुलिसको सुरुवात नै खराब रहेको थियो । १७ रनमा सुरुवाती तीन विकेट गुमाएपछि पुलिस समस्यामा परेको थियो । ओपनर कुशल भुर्तेल सोमपाल कामीको पहिलो बलमा नै कट बिहाइन्ड भए । विकेटकिपर अर्जुन साउद २५ बलमा १० रन मात्र बनाएर आउट भए । त्यसपछि दिलिप नाथ पनि शून्यमा बोल्ड भए । तीनै विकेट सोमपालले लिएका थिए ।

ओपनर सुनिल धमला र आरिफ शेखले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इनिङलाई बलियो बनाए । आरिफ ३४ बलमा तीन चौका प्रहार गर्दै १८ रनमा २३औ ओभरमा आउट भए ।

त्यसपछि ब्याटिङमा आएका शंकर रानाले मात्र पाँच रन बनाउन सके । सुनिल धमलाले तीन चौका र दुई छक्काका साथ ८० बलमा ५२ रन बनाएर पभिलियन फर्किए ।

कप्तान दीपेन्द्र सिंह ऐरी १३ रनमा रन आउट भएका थिए । अलराउन्डर राशिद खानले १७ बलमा १३ रन बनाए । अन्तिममा ब्याटिङ गर्न आएका ललित राजबंशी पनि पहिलो बलमा नै शाहब कै बलमा बोल्ड भए । सागर ढकाल ३ रनमा नट आउट रहे ।

आर्मीका लागि सोमपाल कामीले घातक बलिङ गर्दै ६ ओभरमा ३ मेडन सहित मात्र १२ रन दिएर ४ विकेट लिए । विवेक यादवले सात ओभर बलिङ गर्दै ३७ रन दिएर दुई विकेट लिए । शाहब आलमले पनि ६।४ ओभर बलिङ गर्दै २६ रन खर्चेर दुई विकेट लिए ।

आर्मीको यो लगातार दोस्रो हार हो भने पुलिस हालसम्म अपराजित रहँदै आएको छ । तीन खेलमा ६ अंक जोडेको पुलिस अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot