काठमाडौं, ७ माघ । मधेश प्रदेश सरकारका शिक्षामन्त्री महेशप्रसाद यादवले कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रम स्थगित नभए हुन सक्ने अप्रिय घटनाको जिम्मेवार उपकुलपति र रजिस्ट्रार हुनुपर्ने बताएका छन् । आज (आइतबार) विज्ञप्ति जारी गर्दै उनले भोलि (सोमबार) हुने भनिएको भवन शिलान्यास कार्यक्रम रोक्न विश्वविद्यालय प्रशासनलाई निर्देशन दिएका छन् ।
सहकुलपति तथा विश्वविद्यालयको सभा (सिनेट) को अध्यक्ष मन्त्री आफैँ हुँदा विश्वविद्यालयमा हुने कार्यक्रमको विषयमा केही जानकारी नगराइएको भन्दै उनले आपत्तिसमेत जनाएका छन् । विश्वविद्यालयले सिनेटको अध्यक्षको सहमतिबेगर शिलान्यास कार्यक्रम गर्नु विवाद निमत्याउनु रहेको उनले बताएका छन् ।
‘कार्यक्रम स्थगित गर्न विश्वविद्यालयको प्रशासनिक विभागलाई निर्देशन दिएको व्यहोरा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ। कार्यक्रम नरोकेमा कुनै किसिमको अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी मन्त्रालय नहुने विश्वविद्यालयको भिसी र रजिस्ट्रार हुने जानकारीसमेत गराउन चाहन्छु,’– मन्त्री यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
मधेश कृषि विश्वविद्यालयको भवन उद्घाटनको विषयलाई लिएर जनमत पार्टी र जसपाबीच विवाद सुरु भएको छ । जनमतका कार्यकर्ताले भोलि हुने भनिएको उक्त शिलान्यास कार्यक्रम रोक्न विश्वविद्यालयमा तालाबन्दीसमेत गरेका छन् । साथै, जनमतका अध्यक्ष सिके राउतले जसपा अध्यक्ष उपेन्द्र यावलले विश्वविद्यालयको भवन उद्घाटनमा आएुर हिंसा र आतंक मच्चाउन खोजेको आरोपसमेत लगाएका छन् ।