Logo

अर्जुन कुमाल: ‘नर्भस नाइन्टिज’को शिकार



काठमाडौं,८ माघ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपाल पहिलो पटक न्यूजिल्याण्डसँग पराजित भएको छ । यसअघि भएका दुवै भेटमा विजयी भएको नेपाल तेस्रो भेटमा न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको हो ।

३०३ रनको विशाल चुनौती पछ्याउने क्रममा नेपाल निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३८ रन बनायो । नेपालका लागि ओपनिङ खेलाडी अर्जुन कुमालले संयमित ब्याटिङ गर्दै ९० रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । उनले १०४ बलमा १२ चौकाको मद्धतले ९० रन बनाएका हुन् ।

अहिलेसम्म यू–१९ विश्वकपमा एउटा पनि शतक जोड्न नसकेको अवस्थामा अर्जुनले शतक जोड्ने अपेक्षा गरिएको थियो । तर उनी ‘नर्भस नाइन्टिज’ को सिकार भए ।

९० रन बनाएपछि धेरै ब्याटर शतकसम्म पुग्न धैर्य गरेर खेल्ने भएकाले ९० माथिको स्कोरलाई ‘नर्भस नाइन्टिज’ भनेर चिनिन्छ । एवाल्डको ३८औं ओभरको पहिलो बलमा उनले कुनै रन जोडेनन् ।

दोस्रो बलमा उनले अर्जुनलाई शर्ट बल गरे । अर्जुनले उक्त बललाई उपरकट हान्ने धुनमा थर्डम्यानमा सट खेलेका थिए । तर त्यो बल न्युजिल्यान्डका फिल्डर रोबी फाउल्केसको हातमा पुग्यो । अर्जुनको १०४ बलमा १२ चौकासहित ९० रनको इनिङ त्यहिँ समाप्त भयो ।

अर्जुन नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन् । एसिसी यू-१९ प्रिमियर कप २०२३ अक्टोबरमा अर्जुनले साउदी अरेवियाविरुद्ध १४३ रन बनाएका थिए ।

नेपालका लागि आशा बनेका कप्तान देव खनाल र गुल्सन झा सस्तैमा आउट भए । कप्तान देवले ३४ बलमा ३६ रन बनाए भने गुल्सन २ रनमा नै आउट भए । गुल्सन र देव दुवै लामो सट खेल्ने धुनमा आउट हुन पुगेका थिए । आशा गरिएको खेलाडीहरु लामो सट खेल्ने धुनमा लगातार आउट भईरहँदा अर्जुनले ने नेपालको क्रिज सम्हालेका थिए । लगातार विकट गुमिरहेपनि नेपाली खेलाडीहरु अन्तिमसम्म क्रिजमा रहन भने सफल भएका थिए ।

दशौँ विकेटका लागि सुवाश भण्डारी र तिलक भण्डारीबीच ३७ रनको अविजित साझेदारी भएको थियो । सुवासले ५२ बलमा अविजित रहँदै ३३ तथा तिलकले १९ बलमा अविजित रहँदै १७ रन बनाए । उनले एक छक्का र २ चौका हानेका थिए ।

नेपालले २००० देखि यू १९ विश्वकप खेल्दै आएको छ । आठौं सहभागितासम्म नेपालका कुनैपनि खेलाडीले शतक बनाउन सकेका छैनन् । २०१२ को यू-१९ विश्वकपमा प्रदीप ऐरीले नामिबियाविरुद्ध बनाएको ९८ रन नै सर्वाधिक रहँदै आएको छ ।

बलिङतर्फ न्यूजिल्याण्डका लागि मासन क्लार्कले सर्वाधिक ३ विकेट लिए ।

यसअघि इष्ट लण्डनमा टस जितेर न्यूजिल्याण्डले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३०२ रन बनाएको थियो ।

नेपालले शुरुआती १० ओभरमा सफलता हासिल गर्न नसके पनि त्यसपछि भने लगातार तीन विकेट लिएको थियो । १४।३ ओभरमा ६७ रन बनाउँदा न्यूजिल्याण्डले ३ विकेट गुमाएको थियो ।

त्यसपछि नेपालले ४१।५ ओभरमा मात्र चौथो विकेट लियो । चौथो विकेटका लागि १५७ रनको साझेदारी भएको थियो ।

स्नेहिथ रेड्डी र कप्तान अस्कर ज्याक्सनले १६५ रनको साझेदारी गरेका हुन् । रेड्डीले नेपाली बलरहरुलाई निस्तेज पार्ने क्रममा १२५ बलमा अविजित रहँदै १४७ रन बनाए ।

कप्तान अस्करले ७५ रन बनाए । नेपालका लागि सुवाश भण्डारीले ३, गुल्सन झाले २ तथा दिपेश कणेल, तिलक भण्डारी र आकाश त्रिपाठीले १–१ विकेट लिए ।

योसँगै न्यूजिल्याण्डले नेपालसँगको हारको श्रृंखला पनि रोकेको छ । नेपालले यसअघि न्यूजिल्याण्डसँग दुई पटक खेलेकोमा दुवै पटक नेपाल विजयी भएको थियो । नेपाल सन् २००६ मा १ विकेटले र २०१६ मा ३२ रनले विजयी भएको थियो ।

नेपाल र न्यूजिल्याण्ड समूह डी मा रहेका छन् । यो समूहमा पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् ।

पाकिस्तानले अफगानिस्तानमाथि १८१ रनको फराकिलो जित हासिल गरेको थियो । नेपालले आफ्नो दोस्रो खेलमा बुधबार पाकिस्तानसँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्