Logo

मुख्यमन्त्री यादव र जसपाले मधेशमा अराजकता मचाउन खोज्योः शिक्षामन्त्री यादव



काठमाडौं, ८ माघ । मधेश प्रदेशका शिक्षामन्त्री महेश यादवले मुख्यमन्त्री सरोज यादव र उनी संलग्न दल जनता समाजवादी दलले अराजकता मचाउन खोजेको बताएका छन् ।

आज (सोमबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मधेशमा भएका बेथितिलाई कसरी ठीक गर्न सकिन्छ भन्नेमा आफूहरुको पहल चलिरहेको भएपनि मुख्यमन्त्री यादव र उनको पार्टीले अराजकता मचाउन खोजेको आरोप लगाए । जनताले निर्वाचनमार्फत अस्वीरका गरेको व्यक्तिले प्रदेश सरकारको विश्वविद्यालय उद्घाटन गर्न नपाइने उनको तर्क छ । उनले उपेन्द्रले सो ठाउँमा आफ्नो पार्टीको कार्यक्रम गर्दा आफूहरुलाई कुनै आपत्ति नरहेको बताउँदै प्रदेश सरकारको काम कारबाही कानुनअनुसार हुनुपर्ने बताए ।

‘उपेन्द्रजीलाई त सप्तरी जिल्लावासीहरुले लखाटीसकेको अवस्था छ । हामीले अवरोध गर्नुभन्दा पनि जनताले नै अवरोध गरिरहेका छन् । जनताले उसलाई अस्वीकार गरेर पठाएको छ । १८ हजारको मतले उहाँलाई हराएको ठाउँ हो यो । यहाँ त जिताएको डा. सिके राउतलाई हो । जनताले अस्वीकार गरिसकेपछि उहाँले किन आउनु पर्यो र ?’ उनले भने ।

मुख्यमन्त्री सरोज यादव र जसपा अध्यक्ष उपेन्द्र यादवलाई उनले लाज सरम नभएको मान्छेका रुपमा चित्रण गरे । सिनेटको अध्यक्षको हैसियतले उक्त कार्यक्रमको सबै अधिकार आफ्नो भएको उनले दाबी गरे । मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यासबारे जनमत र जसपाबीच विवाद चुलिएको छ ।



प्रतिक्रिया दिनुहोस्