Logo

जनमतका मन्त्रीलाई आजै बर्खास्त गर्ने मधेशका मुख्यमन्त्री यादवको घोषणा



काठमाडौं,८ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारमा सहभागी जनमत पार्टीका मन्त्रीलाई आजै पदबाट बर्खास्त गर्ने घोषणा गरेका छन् ।

मधेश प्रदेश विश्वविद्यालयमा तालाबन्दी गरेपछि जनमत र जसपाबाट मुख्यमन्त्री बनेका यादवबीच विवाद चुलिएको छ । उनले आज जनकपुरमा महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजित एक कार्यक्रममा जनमतका मन्त्रीलाई तत्काल हटाउने बताएका हुन् ।

मुख्यमन्त्री यादवले माघ ११ सम्म जनमतलाई सरकारमा राख्ने भन्ने गठबन्धन दलका नेताको कुरामा आफू सहमत नभएको भन्दै तत्काल हटाउनुपर्ने बताएका हुन् ।

उनले भने,‘११ गतेसम्म बाटो नहेरौँ, गठबन्धनलाई बाटो नहेरौँ । तपाईंहरू सब पछि हटाउनुहोला म त आजै हटाइदिन्छु । त्यस्ता अराजक मान्छेलाई सरकारमा राख्नुहुँदैन ।’

मधेश प्रदेशको सरकारमा जनमतबाट शिक्षा तथा समाजकल्याण मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह रहेका छन् । पछिल्ला दिनमा मधेशमा जनमत र जसपाबीच निकै विवाद बढ्न थालेको छ । हिजोदेखि मधेश कृषि विश्वविद्यालयको विषयमा समेत विवाद भइरहेको छ । जसले गर्दा राजविराज क्षेत्र तनावग्रस्त भएको थियो ।

यसअघि सप्तरीमा प्रदेश सरकारले गर्न लागेको कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमत विरोधमा उत्रिएको थियो । सप्तरी जनमतका अध्यक्ष डा सिके राउतको निर्वाचन क्षेत्र हो । सप्तरी २ बाट गतवर्ष राउतले उनै यादवलाई हराउँदै प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

जनमत र जसपाबीच आम चुनावदेखि नै सम्बन्धमा दरार आएको थियो । संघीय सरकारमा पनि सहभागी यी दुई दलबीच एक दललाई सरकारबाट हटाउन प्रधानमन्त्रीलाई दुवैले दवाव दिँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्