काठमाडौं,८ माघ । तीव्र गतीका बलर ललितनारायण राजवंशीले शानदार बलिङ गरेपछि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा नेपाल पुलिसले लगातार चौथो जित निकालेको छ ।
लगातार चौथो जित निकाल्नेक्रममा पुलिसले अर्को विभागीय टिम एपीएफलाई ५८ रनको फराकिलो अन्तरले हराएको हो । पुलिसले दिएको १४६ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफ ३४ ओभरमा ८७ रनमा समेटिएपछि पुलिसले ५८ रनको जित निकालेको हो ।
एपीएफका लागि सन्दीप जोराले २५ तथा अमर रौटेलाले बनाएको २३ रननै सर्वाधिक रह्यो । कप्तान रोहित पौडेल, लोकेश बल, मौशम ढकाल र रमेश कुर्मी शून्य रनमै आउट भए ।
बलिङतर्फ घातक बलिङ गरेका ललितले ८ ओभरमा ४ मेड्न राख्दै ८ रन खर्चिएर ५ विकेट चट्काए । त्यस्तै रासिद खानले २ र सागर ढकालले १ विकेट लिए ।
यसअघि भैरहवास्थित सिद्धार्थनगर रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले १ सय ४५ रन जोडेको थियो । खराब मौसमका कारण ४९ ओभरमा घटाइएको खेलमा पुलिस ४१ ओभरमा अलआउट भयो । पुलिसका लागि ओपनर दिलिप नाथले सर्वाधिक ४४ रन जोडे ।
पहिलो ओभरमा सुनिल धमलालाई शून्यमा गुमाएको पुलिसले दोस्रो विकेटका लागि राम्रो साझेदारी पायो । दिलीप र अर्जुन साउदले ७६ रनको साझेदारी गरेका थिए । दिलिप ६३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै रोहितको शिकार बने । त्यसपछि भने एपिएफले लगातार विकेट लियो ।
अर्जुन साउदले ३१, शंकर रानाले २२ र दीपेन्द्र सिंह ऐरीले १५ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एपिएफका भुवन कार्कीले ३ विकेट लिँदा अमर राउटेला र रमेश कुर्मीले २-२ विकेट लिए । पुरण विक, रोहित पौडेल र मौसम ढकालले १-१ विकेट लिए ।