काठमाडौं, ९ माघ । जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता मनिष सुमनले मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास पूर्व निर्धारित कार्यक्रमअनुसार भब्यताका साथ सम्पन्न भएको बताए । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै उपेन्द्र यादवको पहलमा मधेश प्रदेश सरकारले मधेश कृषि विश्वविद्यालयको कल्पना गरेको उनले बताए ।
मधेश कृषि विश्वविद्यालयलाई २२ विघा जग्गा तत्कालीन नगरप्रमुख शम्भु यादवको पहलमा नगरपालिकाले प्रदान गरेको उनले बताए । उनले जसले पहल गरेको हो उसैलाई प्रमुख अतिथि बनाएर हिजो विश्वविद्यालय भवन शिलान्यासको काम भएको बताए । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले विभिन्न नमिल्ने कुरा गरेर शिलान्यास रोक्न बितण्डा मच्चाएको उनको आरोप छ । विश्वविद्यालय कुनै गाउँ, जिल्ला र क्षेत्र विशेषको नहुने उनको भनाइ छ । उनले जसपा अध्यक्ष यादव त्यहाँका जनप्रतिनिधि होईन, त्यस कारण उनीबाट विश्वविद्यालय भनव शिलान्यास हुन हुँदैन भन्नु कुतर्क रहेको बताए ।
‘टेक्निकल्ली यहाँका प्रतिनिधि सभा सदस्य डा. सिके राउत हुनुहुन्छ । मलाई जानकारी भएसम्म विश्वविद्यालय परिवारले डा. सिके राउतलाई बडो सम्मानका साथ निम्ता दिएको थियो ।’ उनले भने, ‘सिके राउतजी अर्थात् उनको पार्टीको पक्ष के थियो भने यो विश्वविद्यालय एउटा सहरमात्रको हो । एउटा निर्वाचन क्षेत्रको मात्र हो । कुनै पनि विश्वविद्यालय एउटा गाउँ, क्षेत्र विशेषको हुँदैन । यहाँ पढ्ने विद्यार्थी देश विदेशको पनि आउन सक्छन् । उहाँ (उपेन्द्र) बारा जिल्लाको प्रतिनिधि सभा सदस्य हो, यो क्षेत्रको प्रतिनिधि सभा सदस्य होईन भन्नेजस्ता कुकुरा, मिल्दै नमिल्ने कुरा गरेर उहाँहरुले रोक्न खोज्नु भएको थियो ।