Logo

निर्वाचित उपसचिव शाहीलाई ‘आउट’ गर्दै पद्माले खाइन् शपथ, एमाले कर्णालीको विवाद मिल्यो



काठमाडौं,९ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कर्णाली प्रदेशको उपसचिव पदमा पद्मा खड्काले पद तथा गोपनियताको शपथ लिएकी छन् ।

सोमबार प्रदेश अध्यक्ष गुलावजंग शाहबाट खड्काले उपसचिवको शपथ लिएकी हुन् ।
खड्काको शपथसँगै नेकपा एमालेको कर्णाली प्रदेश कमिटीको उपसचिव पदमा देखिएको विवाद साम्य भएको छ।

एमालेको गत असोज १०-१५ सम्म भएको प्रदेश अधिवेशनमा उम्मेदवार रहेकी खड्का पराजित भएकी थिईन् । अधिवेशनबाट उपसचिवमा समावेशी उपसचिव निर्वाचित हुनुपर्ने भए पनि दुई उपसचिव पदमा पुरुष मात्र निर्वाचित भएका थिए ।

जसमा उपसचिव पदका लागि दुई महिलासहित नौ जनाको उम्मेदवारी परेको थियो । सबैभन्दा धेरै मत दैलेखका रवीन्द्रराज शर्मा र कालिकोटका रमेशकुमार शाहीले ल्याएका थिए ।

साथै, उपसचिवमा उम्मेदवार बनेका ९ जनामध्ये सुर्खेतकी पद्मा खड्का र जुम्लाकी मेनका पछाईं पनि थिए । पुरुषतर्फ शर्मा र शाही निर्वाचित भएपनि महिलातर्फ भने खड्काले सबैभन्दा धेरै मत पाएकी थिइन् ।

एक जना महिला उपसचिव हुनुपर्ने समावेशी कलस्टर भएको भन्दै महिलामा सबैभन्दा बढी मत ल्याउने पद्‌मा खड्काले पार्टी केन्द्रमा उजुरी दिएकी थिइन्।

खड्काको उजुरीपछि पार्टीको केन्द्रीय सचिवालयले खड्कालाई उपसचिव र शाहीलाई सदस्य बनाउन अन्तरपार्टी निर्देशन जारी गरेको थियो। तर, पार्टीको केन्द्रीय निर्वाचन आयोगले शाही नै उपसचिव निर्वाचित भएको भन्दै पार्टी सचिवालयको निर्णय खारेज गरेपछि विवाद थप चुलिएको थियो।

सअघि मंसिर ११ गते एमाले महासचिव शंकर पोखरेलले केन्द्रीय सचिवालयको कात्तिक २२ गते बसेको २५औं बैठकले गरेको निर्णय भन्दै खड्कालाई उपसचिव बनाएको पत्र प्रदेश अध्यक्ष गुलावजंग शाहलाई पठाएका थिए ।

“कर्णाली प्रदेश अधिवेशनमा पदाधिकारीमा महिला आरक्षण नगरिएकोमा उपसचिव पदमा महिला कोटा हुनुपर्ने दावीसहितको निवेदनलाई समेत ध्यानमा राखी विजयी पुरुष उम्मेदवारमध्ये दोस्रो मत ल्याउने रमेश शाहीका स्थानमा महिला उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउने पदमा खड्कालाई उपसचिव पदमा बहाल गर्ने । रमेश शाहीलाई प्रदेश कमिटीमा मनोनित गर्ने’ महासचिव पोखरेलले प्रदेश कमिटीलाई पठाएको पत्रमा भनिएको छ ।

एमाले महासचिव पोखरेलको उक्त पत्रपछि नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका थिए । यता एमालेको निर्वाचन आयोगले भने उपसचिवमा शाहीलाई कायम गर्न निर्देशन दिएको थियो ।एमाले अध्यक्ष ओलीलाई उपस्थित गराएर नेताहरुबीच समन्वय गरेर नै खड्कालाई उपसचिवको शपथ दिलाईएको एमाले स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्